एमसिसि विरुद्ध खबरदारी दिन चोटा बैठक

एमसिसि विरुद्ध खबरदारी दिन चोटा बैठक
भक्तपुर, १५ पुस । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा एमसिसि विरुद्ध खबरदारी सभा तथा संसद् घेराउ कार्यक्रम सफल बनाउन आयोजित चोटा बैठक नेमकिपाका प्रदेश सभासद् सृजना सैंजूको प्रमुख आतिथ्यतामा बिहिबार साल्लागणेशमा एक समारोह वीच सम्पन्न भयो ।
प्रमुख अतिथि सृजना सैंजूले अनुदानले कुनै पनि देश विकास नभएको र नेपालमा आएको अनुदानको हिसाव किताव गर्ने हो भने हाम्रो देश धनी हुनुपर्ने हो तर अहिले पनि देश विकास भएको छैन साथै एक जना नेपाली जन्मने वित्तिकै ५४ हजार ऋण थोपारिसकेको बताउनु भयो । उहाँले अनुदान निःसर्त हुनु पर्नेमा एमसिसि सःसर्त अनुदान भएकोले नेपाललाई उपनिवेश बनाउने र अमेरिकाको तख्तामा राख्ने सर्तहरुका कारण यो राष्ट्रधाती सम्झौता भएको प्रष्ट हुन्छ भन्नुभयो । उहाँले अमेरिका कमजोर देशहरुलाई आफ्नो मातहतमा राखी त्यहाँको प्रकृति स्त्रोत साधन दोहन गर्ने कार्य इराक देशबाट प्रष्ट हुन्छ भन्नुभयो । उहाँले एमसिसिले निर्माण गरेको पछिसम्म पनि सरकारको हातमा हस्तातरण नगरेको अफ्रिकी देश मादागास्करमा बाटो बनाएर सरकारलाई हस्तातरण नगरी एमसिएलाई दिएको र घानामा पनि ट्रान्समिसन लाइन प्रसारण पनि त्यस्तै गरेको बताउनुभयो । उहाँले अमेरिका सधैं आफ्नो लगानी सम्भाबनाको देशहरु र उदयमान देशहरुको स्त्रोत साधन माथि कब्जा जमाउन सोचले ग्रसित भएको बताउँदै त्यस्ता देशहरु इराक, लिविया, ल्याटिन अमेरिकालाई धुजाधुजा बनाई सकेको बताउनुभयो । उहाँले उदयमान देशहरु रुसलाई ध्वस्त बनाई सकेको र भारत मार्फत चीनलाई खतम गर्न र अमेरिकाको तख्तामा राख्ने सोचका साथ नेपाललाई एमसिसि सम्झौता गराउन खोजेको बताउनु भयो । उहाँले अमेरिकाले जहिले पनि समाजवादी देशहरुमा हस्तक्षेप गर्ने गरेको उदाहरण लिविया, क्युवा रहेको र अब उदयमान चीन धेर्न र तेश्रो विश्वयुद्ध एसियामा सुरु गरेर हतियारको व्यापार गर्न खोजेको आरोप लगाउनु भयो । उहाँले अमेरिकाले गरेको प्रजातान्त्रीक सम्मेलनमा चीन, क्युवा र प्रजगकोरियालाई निम्तो नगरेको र संयुक्त राष्ट्रसंघमा बहुमत देशले क्युवाको नाकाबन्दी हताउन मतदान गर्दा नमान्ने अमेरिकाको प्रजातान्त्रीक सम्मेलन युद्धको तयारी भएको र नाकाबन्दीको पक्षमा इजरायल र अमेरिकामात्र रहेको बताउँदै अमेरिका प्रजातान्त्रीक देश नभएको बताउनु भयो साथै एमसिसि हिन्द प्रशान्त सैनिक गठबन्धन भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका अध्यक्ष गौतम प्रसाद लासिवाले जसको सिता खान्छ उसको गीता गाउँछ भने जस्तै एमसिसि देशघाती हुँदा हुदै पैसा खाएकाहरुले त्यसको समर्थन गरिरहेको तर एमसिसिमा भएका बुँदाहरु एमसिसिबाट कुनै हानी नोक्सानी र मानवीय क्षेति भएमा दावी गर्न नपाउने भनेको बुँदाले नै यो देशघाती भएको प्रष्ट हुन्छ भन्नुभयो । उहाँले एमसिसिको पूर्वाधार निर्माण दुध दुहुने हामी खाने विदेशी हुने भएकोले नेपाललाई अँध्यारोमा राखेर विदेशमा विधुत पठाउने कार्य भएकोले यसको विरोध गर्नुपर्छ भन्नुभयो । उहाँले खबरदारी सभा संसद् घेराउ भएको बताउँदै यसका दलालहरु को को हुन् हामीले चिनिराख्नु पर्ने बताउनुभयो ।
कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिका संजय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा रामकष्ण प्रजापति, अनिल न्हेम्हाफुकीले पनि बोल्नु भएको थियो ।