भक्तपुर नगरपालिका क्षेत्रमा राष्ट्रिय जनगणना २०७८ नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंको घरपरिवारबाट शुभारम्भ
भक्तपुर, २०७८ कार्तिक २५ गते बिहिबार
राष्ट्रिय जनगणना २०७८ कार्यक्रम अन्तर्गत मुख्य गणना कार्य मिति २०७८ कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म देशैभरी आरम्भ भएको छ । सोही क्रममा भक्तपुर नगरपालिका क्षेत्रमा राष्ट्रिय जनगणना २०७८ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)को घरपरिवारबाट शुभारम्भ भयो । स्थानीय जनगणना अधिकारी तुल्सीदेवी कोजूले अध्यक्ष विजुक्छेंको घरपरिवारको विवरण संकलन गरी जनगणनाको आरम्भ गर्नुभएको हो ।

कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै अध्यक्ष विजुक्छेंले राष्ट्रिय स्तरका राजनीतिक नेताहरु, राष्ट्र प्रमुख, सरकार प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको व्यक्तिगत विवरण र भौतिक विवरण राष्ट्रिय सुरक्षासँग समेत गाँसिएको विषय हुने भएकोले निजहरुको विवरणको गोप्यताको महत्वबारे केन्द्रिय तथ्यांक विभाग संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता तथ्य र तथ्यांक संकलन कार्य देशकै स्रोत र साधनबाट सम्पन्न गर्नुपर्ने र विदेशी सहयोगबाट यस्ता कार्यक्रम सञ्चालन गर्दा महत्वपूर्ण सूचनाहरु चुहावट भई देशलाई दीर्घकालीन नकारात्मक असर पर्न सक्ने हुँदा सो विषयमा सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष विजुक्छेंको घरपरिवारको जनगणना संकलन पछि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको घरपरिवारको पनि जनगणना संकलन गरिएको थियो । जनगणना गर्ने गणकहरुलाई विवरणहरु उपलब्ध गराउँदै नगर प्रमुख प्रजापतिले यस्तो आवधिक जनगणना देशको योजना तयार पार्न, प्रदेश र संघीय संसदमा समानुपातिक प्रतिनिधित्व गराउन, भौतिक पूर्वाधार निर्माण गर्न र अत्यावश्यक सेवा सुविधा विस्तार गर्न अत्यन्त महत्वपूर्ण हुने भएकोले सम्पूर्ण नगरबासीहरुलाई घर घरमा आउने गणकहरुलाई सही, सत्य र तथ्य विवरणहरु उपलब्ध गराउनुहुन आग्रह गर्नुभयो ।
जनगणना संकलन गर्ने कार्यक्रममा जिल्ला जनगणना अधिकारी पृथ्वी विजयराज सिजापतिलगायत जिल्ला जनगणना कार्यालयका कर्मचारी तथा गणकहरुको उपस्थिति रहेको थियो ।














