पुस्तकालय तथा वाचनालयहरुको विकासबारे पुस्तकालयकर्मीहरुसँग छलफल

पुस्तकालय तथा वाचनालयहरुको विकासबारे पुस्तकालयकर्मीहरुसँग छलफल
२०७८ असोज १९ गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक पुस्तकालय तथा वाचनालयका प्रतिनिधिहरुसँगको बैठक मंगलबार सम्पन्न भयो । बैठकमा पुस्तकालय, वाचनालयका प्रतिनिधिहरुले आ–आफ्नो पुस्तकालय र वाचनालयको अवस्थाबारे अवगत गराई व्यवस्थित गरी निरन्तर सञ्चालन र विकास गर्ने विषयमा छलफल भयो ।
बैठकमा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले समाजका हरेक नागरिकहरुले पुस्तकालयको महत्व बुझ्न सक्यो भने देश अगाडि बढ्न सहयोगी भूमिका खेल्ने बताउनुभयो । पुस्तकालयको महत्व विद्यार्थी जीवनमा धेरै हुने बताउनुहुँदै उहाँले युवा पुस्तालाई विकृति र विसंगतिबाट टाढा राख्न पनि उनीहरुलाई पुस्तकालयमा संलग्न गराइराख्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले नगरभित्र सञ्चालित पुस्तकालयहरुको स्तरोन्नति र सहयोगको लागि त्यहाँको स्थिति र सम्भावनाहरुबारे अध्ययन गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुस्तकालय सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने थलो भएकोले यसको विकास र स्तरवृद्धि गर्ने विषयमा नगरपालिका क्रियाशील रहेको बताउनुभयो ।
बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको संक्रमण नेपालमा क्रमशः घट्दै गए पनि जात्रा पर्वमा यो रोग फैलिने जोखिम अझ बढ्ने हुँदा पुस्तकालय, वाचनालय, टीम क्लबलगायत स्थानीय सामाजिक संघ संस्थाहरू अझ सक्रिय भई यस रोगबाट बच्न र बचाउन सक्रियतापूर्वक लाग्नुपर्ने तथ्यलाई मनन गर्दै सबै वाचनालय, पुस्तकालय र टीम क्लबका पदाधिकारीहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन, भौतिक दुरी कायम गराउन र भीडभाड हुन नदिन क्रियाशील हुने निर्णय ग¥यो ।


साथै नजिकिँदै गरेको यस वर्षको बिजया दशमी २०७८ सँग सम्बन्धित शक्तिपीठहरूको जात्रा, खँ म्ये जात्रा, नवदुर्गा जात्रा, तलेजु जात्रा, ब्रम्हायणी जात्रालगायतका जात्राहरूलाई शान्तिपूर्ण र सुरक्षित रुपमा सम्पन्न गर्न पुस्तकालय र वाचनालयका पदाधिकारीहरू सरसफाई, जात्रा व्यवस्थापन, स्वास्थ्य सामाग्री वितरण तथा सामाजिक विकृति र विसंगति रोक्न प्रचारप्रसारलगायतका आवश्यक क्षेत्रमा स्वयम्सेवकको रुपमा सम्बन्धित वडा र स्थानमा परिचालन हुने निर्णय बैठकले ग¥यो ।
उक्त बैठकमा उपस्थित प्रतिनिधिहरुले सार्वजनिक पुस्तकालयहरुमा स्थान अभाव रहेको, अनुसन्धानमा आधारित पुस्तकहरुको व्यवस्था गरी प्रविधिमैत्री बनाउनुपर्ने, पुस्तकालयहरुमा इन्टरनेटको व्यवस्था गर्न, साहित्यिक पुस्तकसँगै पाठ्यपुस्तकलगायत व्यवस्था गर्न, खेलकुद, अन्तरक्रियालगायत अतिरिक्त गतिविधि सञ्चालन गर्न नगरपालिकाको तर्फबाट आवश्यक भौतिक एवम् आर्थिक सहयोग गर्नुपर्नेलगायतका सुझाव दिनुभयो ।
बैठकले भक्तपुर नगर क्षेत्रका सार्वजनिक पुस्तकालय सुधारको लागि सुझाव पेश गर्न भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयका पुस्तकालय अधिकृत भूपाल मूलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
बैठकमा प्रगति पुस्तकालय, सहिद राजकुमार स्मृति पुस्तकालय, मणिसुन्दर पुस्तकालय, लेनिन पुस्तकालय, झी पासा सफुकुथी, सहिद निर्मल पुष्परत्न वाचनालय, झिगु वाचनालय, बौद्धिक विकास मण्डल पुस्तकालय, निर्मल पुष्प वाचनालय, न्यातपोल कर्नर पुस्तकालय, जागरण पुस्तकालय, मंगलाछेँ युवा क्लब तथा पुस्तकालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।