दिवस मनाएर जेष्ठ नागरिक झन अपहेलित !
भक्तपुर । असोज १५गते
विश्वभर ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइरहँदा अग्र समाज नेपालले नेपालका जेष्ठ नागरिकले सम्मानजनक स्थान पाउन नसकेको गुनासो गरेका छन् । ६० वर्ष पुगेका नेपालीलाई जेष्ठ नागरिकको रुपमा कानुनी परिभाषा भए पनि ७० वर्ष नपुगि सामाजिक सुरक्षा भट्टा समेत पाउन नसकेको उल्लेख गर्दै समाजका अध्यक्ष महाप्रसाद पराजुलीले सरकारले जेष्ठ नागरिकलाई यातायात र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने भनिए पनि ब्यवहारमा पाउन नसकेको गुनासो गरेका हुन् । सरकारमा पुगेका दल, नेता, प्रधानमन्त्री, मन्त्रीहरुले जेष्ठ नागरिकको नाममा विभिन्न आश्वासनहरु दिएपनि निम्न आए भएका अशक्त, बेसाहारा जेष्ठ नागरिकहरु रोगि, विरामी भए पनि उपचार नपाएको, पेटभरी खान समेत नपाएको उदाहरणहरु प्रस्तुत गरी पारिवार समाजबाटै अपहेलित अवस्थामा काल कुरेर बस्नुपर्ने अवस्था आउनु दुःखदायी भएको बताए ।
जेष्ठ नागरिकलाई खान, वस्न र उपचारको व्यवस्था देखि परिवारमा रहेर सम्मानजनकरुपले बाच्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष पराजुलीले बृद्धाश्रममा राखेर जेष्ठ नागरिकको कल्याण होइन बन्दी गृहमा राखे जस्तो ब्यवहार भाइरहेको बेला ठूलठूला होटलहरुमा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउनेको औचित्य नभएको बताए । जेष्ठ नागरिक दिवस मनाउन पीडित जेष्ठ नागरिकहरुको घरआँगनमा पुगेर जेष्ठ नागरिकको समस्या र गुनासो सम्बोधन गर्न सके मात्र यो दिवस मनाउनुको महत्व रहनेमा उहाँको जोड थियो ।













