भक्तपुर बचत संघको पल्र्स तालिम सम्पन्न
भक्तपुर, माघ २९ गते
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा दुई दिने पल्र्स अनुगमन प्रणाली तालिम मिति २०७७ माघ २९ गते भक्तपुर बैंक्वेट, हाकुफोहिटी भक्तपुमा सम्पन्न भयो । संघका उपाध्यक्ष हरि बल्लले तालिमको समापन समारोहमा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गर्दै तालिमले पल्र्सको सूचांक निकाल्न र सुचांकको विश्लेषण गर्न सक्ने गरी तालिम आयोजना भए अनुसार संस्थामा पल्र्सको व्यवहारिक प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । संस्थामा पल्र्सको नियमित परिक्षणले वित्तीय अनुशासनको परिपालना भई संस्थाको सम्भावित समस्याबाट बच्न सकिने कुराको चर्चा गर्नु भयो ।

संघका कोषाध्यक्ष एंव वित्तीय सेवा प्रवद्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले सदस्य संस्थाहरुलाई पल्र्स प्रणाली अनुसार बाह्य ऋण बढीमा ५ प्रतिशतसम्म लिन सक्ने भएकोले संघको सस्तो व्याजदरको ऋण उपभोग गर्न अनुरोध गर्नुभयो । संघका वित्तीय सेवा प्रवर्दन उपसमितिका सदस्य राजकुमार लघुले धन्यवाद मन्तव्य दिर्दै पल्र्सको तालिमले संस्थाको अवस्था विश्लेषण हुने भएकोले समयमै संस्थामा देखिने समस्याहरुको समाधान गर्न सक्ने कुरा बताउनुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजु र शुभकामना बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राधेश्याम सुवालले तालिमको सहजीकरण गर्नुभयो ।
संघका वित्तीय सेवा प्रवर्दन उपसमितिका सदस्य राजाराम गोसाई कार्यक्रम संचालन गरेको सो तालिम कार्यक्रममा संघका सदस्य संस्थाहरुबाट ३८ जनाको सहभागी रहेको रह्यो ।














