भक्तपुरका ७३ वर्षीय एक महिला सहित १७ जनाको मृत्यु , कोरोना जित्नेको संख्या ५०,४११ पुग्यो ।

भक्तपुरका ७३ वर्षीय एक महिला सहित १७ जनाको मृत्यु , कोरोना जित्नेको संख्या ५०,४११ पुग्यो ।
भक्तपुर, असोज ८ गते
भक्तपुरका एक ७३ वर्षीय महिला सहित देशभर बिहिबार १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको मृत्यु हुनेको कुल संख्या ४५३ पुगेको छ भने आज थप १ हजार ४९७ जना कोरोना संक्रमित भएसँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । गत २४ घण्टामा ४५७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।
मृत्यु हुनेहरुमा भक्तपुरका ७३ वर्षीय एक महिला सहित १७ जना रहेका थिए । मृत्यु हुनेहरुमा काठमाण्डौ जिल्लाका मात्रै ४ जना रहेका छन् । काठमाण्डौका ८२ वर्षीय एक महिला सहित ७५,७९ र ८० वर्षीया पुरुषहरुको मृत्यु भएको थियो भने मोरंगका ५५ वर्षीय महिला, झापाका ७८ वर्षीय पुरुष, सुन्सरीका ८१ वर्षीय महिला, धनुषाका ६८र ७० वर्षीय पुरुष, रौतहता ६५ वर्षीय पुरुष, धादिंगका ३२ वर्षीय महिला, तनहुँका ३९ वर्षीय पुरुष, दांगका ३९ वर्षीय पुरुष, कपिल बस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष गरी ५ महिला र १२ पुरुष गरी विहिबार एक्कै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाएको हो ।
हाल आइसियूमा २३२ जना र भेन्टिलेटरमा २८ जना रहेको प्रवक्ता डा.गौतमले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४४९ वटा नमूना परीक्षण गर्दा १ हजार ४९७ जना थप कोरोना संक्रमित भएका हुन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहिबार थपिएका संक्रमितहरु मध्ये ७५५ संक्रमितहरु काठमाण्डौ उपत्यका भित्रका रहेका छन् । काठमाण्डौ जिल्लाका २२९ महिला र ३८० पुरुष सहित ६०९ जना, ललितपुरका ३८ महिला र ५७ पुरुष सहित ९५ जना र भक्तपुरका १२ महिला र ३९ पुरुष सहित ५१ जना संक्रमित भएका हुन ।
हाल सक्रिय कोरोना संक्रमित १८ हजार ४३७ जना आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा ६ हजार ५६५ जना रहेका छन् । हाल ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु मोरंग, सिराहा, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही छन् भने कोरोना सून्य रहेका जिल्लाहरु रसुवा, मुस्तांग, डोल्पा, मुगु र हुम्ला छन् ।