सरकारद्वारा कोरना संक्रमण बढेका चौध जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
काठमाडौँ, २१ साउन (रासस)
नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ । यस्तै सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएकोे छ ।
दार्चुलाको मार्मा गाउँपालिका, झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८, महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा पनि लगायो रोक
काठमाडौँ, २१ साउन (रासस) ः कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भन्नुभयो, “अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैनतर सामान्यरुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्छ, त्यसमा रोक लगाएको हो ।” जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको उहाँले जानकारी दिनुभयो । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ ।
अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उहाँले अनुरोध गर्नुभएको छ । प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको उहाँले प्रष्ट पार्नुभयो । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । मङ्गलबार मात्रै उपत्यकामा ६२ जनामा कोभिड–१९ देखिएको छ ।
सङ्क्रमण बढेपछि उपत्यका प्रवेशमा थप कडाइ गरिएको र स्वास्थ्य मापदण्ड लागू नगर्ने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्न थालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँले अटेर गर्नेलाई कैद सजाय गर्ने चेतावनीसमेत दिनुभएको छ ।














