असार १५ लाई राष्ट्रिय धान दिवसका साथै दही दिवसको रुपमा पनि मनाऔं
भक्तपुर, असार १५ गते
जुजु धौं व्यवसायी संघले आज असार १५ गतेको दिनलाई दही दिवसको रुपमा मनाउनुपर्नेमा जोड दिएका छन् । असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाइ रहँदा दही च्यूरा खाने परम्पराको समेत महत्व रहेकाले आजको दिनलाई दही दिवसको रुपमा मनाउन आवश्यक रहेको जुजु धौं व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णगोपाल सैंजूले जनाउनु भएको छ । पुस्तौ देखि दही बनाउने व्यवसायीमा समर्पित भक्तपुरका दही व्यवसायीहरुले असार १५को दिनलाई राष्ट्यि धान दिवससँगै दही दिवसको रुपमा पनि मनाउन सके अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
अरु बेला हजार लिटर दुधबाट दही बनाएर बजार लाने गरेका भक्तपुा ब्यवसायीहरुले आज एक्कै दिन एक लाख ३० हजार लिटर भन्दा बढी दूधबाट दही बनाएर बजार लगेको बताएका छन् । काठमाण्डौ उपत्यकामै भक्तपुरको जुजु धौ भने पछि लोकप्रिय र मनपराउने भएकाले यसको गुणस्तरीयतालाई ध्यान दिन्दै संघको तर्फबाट व्यवसायी प्रवर्धन हुँदै आएको उहाँले बताउनु भयो । बजारमा पाइने सबै किसिमका दही जुजु धौ नभएको उल्लेख गर्दै उहाँले जुजु धौं बन्नका लागि दूधको गुणस्तरीयता र यसबाट बनाउने तरिकामा दही बनाउनेकर्मीको ज्ञानेन्द्रीय अंगहरुको विशेष परिचालन हुने बताउनु भयो । जुजु धौं बनाउन विशेष मेहनत चाहिने र मूल्य पनि महंगो हुने उल्लेख गर्दै उहाँले बजारमा सामान्यतया दही मात्र उपलब्ध हुने भए पनि ती दहीहरु पनि स्वादिस्त रहेको बताउनु भयो । संघमा आबद्ध रहेका ब्यवसायीहरुले दही उत्पादनमा विशेष मेहनत गरेकाले स्वादिलो भएको तर संघमा आबद्ध नभएका एवं बाहिरबाट बनाउने दही बारे आफुहरुले भन्न नसकिने बताउनु भयो । आफूहरुले दुधबाट बनाएका पाउडरबाट बनाउने दही पनि राम्रै बनाउने भएकाले दहीको माग दिनप्रदिन बढ्दै गएको बताउनु भयो । जति माग बढे पनि घरेलु र हस्तकला उद्योगकै रुपमा घर परिवारकै सदस्यहरुको हातबाटै दही बनाउँदै आएकाले दहीको स्वाद र गुणस्तरीयता कायम गर्न सकिरहेको उहाँले बताउनु भयो ।

बाक्लो दुधले जुजु दही बनाउने र यसबाट बन्ने दही पनि मिठो हुने भए पनि अहिले भक्तपुरमा पर्याप्त दुधको अभाव रहेकाले चितवन, नवलपरासीबाट दूध झिकाउदै आएको बताउँदै उहाँले लक डाउन अलि खुकुलो भएकाले पर्याप्त दूध उपलब्ध भइरहेको बताउनु भयो । माटोको भाडोमा बनाएको दहीमा पानी स्वस्ने भएकाले बढी जम्ने र प्लास्तिकको भाडामा बनाएको दहीमा पानी रहने भए पनि स्वादमा फरक नहुने उहाँको भनाई छ । कोरना भाइरसको जोखिमका कारण खेर गइरहेको किसानको दुधबाट दही मात्र नभई पनिर, ध्यू, लालमोहर लगायत विभिन्न प्रकारका मिठाइहरु बनाउनेमा दही व्यवसायीहरु आकर्षित हुन थालेको उहाँले बताउनु भयो । घरेलु उद्योगको रुपमा भक्तपुरमा ६५ उद्योगहरुले दही उत्पादन गर्दै आएको संघसँग अभिलेख रहेको उहाँले बताउनु भयो । ती उद्योगहरु मध्ये एक दर्जन जतिले राम्रो दही उत्पादन गर्दै आएको भए पनि अन्य उद्योगहरु भने सामान्य रुपमा मात्र सञ्चालन भइरहेको उल्लेख गर्दै सैजू दही भण्दारले मात्रै आज ५ हजार लिटर दुधको दही उत्पादन गरी बिक्रि वितरण गर्दा पनि अभाब रहेको बताउनु भयो ।














