संविधान संशोधन विधेयक सर्वसहमतिले पारित

काठमाण्डौ, जेष्ठ ३१ गते

नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको शनिबारको बैठकले सर्वसहमत पारित गरेको छ | सहभागी २५८ सांसदले एकमतका साथ दुई तिहाइभन्दा बढी मतले पारित गरेको हो । लिम्पियाधुरा, लिपुलेख, कालापानी समेत समेटिएको नक्सा पास गरेको हो | दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो । संविधानतः विधेयक पारित हुन प्रतिनिधिसभामा हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्छ । आजको मतदानमा सबै सहभागीले पक्षमा मतदान गरी राष्ट्रियताका विषयमा अभूतपूर्व एकता प्रदर्शन गरेका छन् । आज भएको मतदानमा संशोधनका पक्षमा २५८ मत प्राप्त भएको थियो । यसअघि विसं २०७२ फागुन ११ गते पहिलो पटक संविधान संशोधन भएको थियो । प्रतिनिधिसभाका कुल सदस्यमध्ये बैठकमा सहभागी २५८ जनाले मतदानमा भाग लिनुभएको थियो । सो सङ्ख्या प्रतिनिधिसभामा तत्काल कायम २७५ सदस्यको दुई तिहाइभन्दा बढी हो । विपक्षमा पनि कुनै पनि मत परेन । मतदान हुनुअघि संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनिमतका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएपछि विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभएको थियो । त्यसपछि सांसदको दस्तखतसहितको मतदानका लागि मत विभाजन गरिएको थियो । यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथि सदनमा दफावार छलफल भएको थियो ।