भक्तपुर, मंसिर २६ गते । भक्तपुर नगरको विश्व प्रसिद्ध मन्दिर न्यातापोल(पाँच तल्ले मन्दिर)को जीर्णोद्धार कार्य शुरु गरेको छ । भक्तपुर नगरपालिकाको ६५ लाख १३ हजार ३ सय ५८ रुपियाँको लगत इस्टिमेतमा सो मन्दिर जीर्णोद्धार थालिएको हो । २०७२ सालको विनासकारी भूकम्पले पनि सुरक्षित रहेको भनि सर्वत्र चर्चा पाएको न्यातापोलको माथिलो भागमा भूकम्पले आंशिक क्षति पुर्याएको थियो । सोको मर्मत सम्भारका लागि जीर्णोद्धार कार्य थालेको हो । भूकम्प गएको चार वर्षपछि भक्तपुर नगरका अतिसंवेदनशील मठमन्दिरहरुको पुनर्निर्माण तथा जीर्णोद्धारपश्चात न्याटापोलो मन्दिरको जीर्णोद्धार कार्य थालेको हो । न्याटापोल मन्दिर परिसरमै रहेको भैरवको जीर्णोद्धार कार्य सम्पन्न गरेसँगै न्याटापोल मन्दिरको पनि जीर्णोद्धार कार्य थालनी भएको हो । तन्त्र, मन्त्रका देवी शिद्धि लक्ष्मिको मन्दिरको रुपमा समेत चिनिने न्याटापोलको ऐतिहासिक मूल्यमान्यता समेत रहेको संस्कृतिविद ओमप्रसाद धौभडेलले बताएको छ । भक्तपुर नगरको विकासक्रम विस्तार भएसँगै भक्तपुर नगरको माथिलो भाग र तल्लो भाग छुटिने स्थानमा न्याटापोल रहनुको विशेष महत्व रहेको भन्दै संस्कृतिविद धौभडेलले पाँच खुट्किलो माथि पाँच तल्लाको न्याटापोल काठमाण्डौ र ललितपुरको पाँच तल्ले मन्दिरभन्दा अग्लो भिन्न विशेषतालेयुक्त रहेको बताउनु भयो ।
कलासंस्कृतिको स्वर्णयुग मानिने मल्लकालका राजा भूपतिन्द्र मल्लले नेपाल सम्बत ८ सय २२मा निर्माण गरेको न्याटापोल वास्तुकलाको उत्कृष्ठ परम्परागत नमूना मात्र नभई नक्साकन गरी मन्दिरको आर्टिटेकचरको हिसावले पनि उदाहरणीय मन्दिर रहेको छ । यो मन्दिर ६ महिनामा निर्माण सम्पन्न गरेको थियो । १०८ फिट अग्लो न्याटापोल मन्दिर ३ सय वर्षसम्म पनि अटुट रुपले उभिरहेको छ । वि.सं १९९० सालको भूकम्पले पनि माथिल्लो एक तल्लामा क्षेति भएको र त्यसको राजा महेन्द्रको पालामा २०१९ सालमा जीर्णोद्धार गरेको इटिहास छ भने भक्तपुर नगरपालिकाले २०५६ सालमा जीर्णोद्धार गरिएको थियो ।
मन्दिर जीर्णोद्धारको लागि भक्तपुर नगरपालिकाले मन्दिर संरक्षण तथा जीर्णोद्धार उपभोक्ता समिति गठन गरी जीर्णोद्धारको काम स्थानीय समुदायलाई जिम्मेवारी दिएको छ । नगर प्रमुख सुनिल प्रजापति, स्थानीय जनप्रतिनिधी र प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा न्याटापोल मन्दिर जीर्णोद्धार कार्य भइरहेको हो । आगामी असार मसान्तभित्र जीर्णोद्धार पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उपभोक्ता समतिका अध्यक्ष केशव तमखूले बताएका छन् ।