कार्तिक १८ गते, सोमबार
भक्तपुर नगरमा जारी विद्यालयस्तरीय खेलकूद प्रतियोगिता भक्तपुर नगरका विभिन्न खेल मैदानहरुमा जारी रहेको छ । आईतवार विहान प्रभाट फेरी गरी शहीद स्मृति खेल मैदानमा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्नु भएको सो प्रतियोगिता अन्तर्गत भइरहेका खेलहरुको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार भक्तपुरको दरबार क्षेत्रमा भएको कसिमला पाँय्, सिद्धपोखरी उत्तरतर्फको खेलमैदानमा भएको एथ्लेटिक्स र सहिद स्मृति खेल मैदानमा भएको भलिबल खेल निरीक्षण गर्नुभयो ।


निरीक्षणको क्रममा भक्तपुर दरबार क्षेत्रमा सञ्चालित कसिमला पाँय खेलको औपचारिक सुरुवात गर्नुहुँदै नगर प्रमुख प्रजापतिले ‘कसिमला पाँय’ खेल पुर्खाले छोडेको भक्तपुरको स्थानीय खेल भएको बताउनुभयो । भक्तपुर नगरपालिकाले यस खेलको प्रवद्र्धन र नयाँ पुस्तालाई खेल खेल्ने विधि सिकाउन स्थानीय पाठ्यक्रममा समावेश गरेको जानकारी गराउनुहुँदै खेल जित्न र मनोरञ्जनको लागि खेल्ने नभई आपसी सौहार्द कायम राख्न पनि मद्दत पुग्ने बताउनुभयो ।


भक्तपुरका विद्यार्थीहरुलाई यहाँका स्थानीय विषयवस्तुबारे जानकारी गराउने अभियानमा रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाको सबै कार्यहरुमा जनसहभागिताले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक र कसिमला पाँय खेलको प्रतियोगिता सञ्चालन भइरहेको छ ।
















