भक्तपुर, कार्तिक ९ गते । सहकारीको नाममा जनता ठग्नेदेखि होसियार रहन प्रदेश साँसद सुरेन्द्रराज गोसाईले आह्वान गरेका छन् । श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभाको आज भक्तपुरमा उद्घाटन गर्दै साँसद गोसाईले सहकारी मार्फत आम समुदायको शैक्षिक, सामाजिक चेतना वृद्धि गर्न सकिने भए पनि सहकारीको नाममा केही सिमित व्यक्तिहरुले व्यापार गर्ने थलोको रुपमा मात्र उपयोग गरिरहेकोले त्यस्तो सहकारीबाट आम जनता होसियार रहन आग्रह गरेका हुन ।
विकास भनेको भौतिक सम्रचना बनाउनु मात्र होइन, समग्र समुदायको चेतनास्तर र हितलाई ख्याल नगरी सिमित व्यक्तिका लागि गरिने विकास, विकास नभई विनास भएको भन्दै उहाँले राणा शासनमा पनि ठूलठूला दरवारहरु बनेको, पञ्चायतकालमा पनि ठूलठूला राजमार्ग र कलकारखानाहरु बनेको भए पनि त्यस्ता विकास निर्माण आम जनताको हितमा नभएपछि अहिलेको लोकतान्त्रिक मुलुक स्थापना भएको जिकिर गर्दै साँसद गोसाईले अहिलेको सरकारले पनि बहुसंख्यक जनताको हित विपति विकास निमार्णको नाममा विनासलाई निम्त्याई रहेकोमा सरकारको आलोचना गर्नु भयो ।
सहकारी संस्था भित्रका विकृतिहरुलाई बेलैमा चिन्न नसके त्यसबाट जनता थग्ने निश्चित भएको भन्दै त्यस्ता सहकारी संस्थाको गतिविधिहरुमा समुदायले निगरानी गर्नुपर्नेमा जोड दिन्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीलाई व्यवस्थित बनाउने नाममा बनेका संघिय, प्रदेश र स्थानीय तहका सहकारी नीति नियमहरु आपसमा बांझिदा कार्यान्वयनमा चुनौति रहेको भन्दै सहकारीका नीति नियमहरु बारे सदस्यहरुले बुझ्न नसक्दा र साधारण सभामा लाभास मात्र लिने गतिविधिमा सक्रिय भएमा सहकारीको प्रभाव प्रभावकारी नहुने विचार व्यक्त गर्नु भयो ।
श्रमिक साकोसका अध्यक्ष दिनेश ग्वाछाको सभापतित्वमा भएको सो कार्यक्रममा सहकारी समाज भक्तपुरका अध्यक्ष राध्येश्याम सुवाल लगायत छिमेकी सहकारीका प्रतिनिधीहरुले पनि सो अवसरमा सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा साँस्कृतिक झाँकीहरुको प्रस्तुतीसँगै असल बचत र ऋण कर्ता, एसइईमा उत्तीर्ण विद्यार्थी तथा जेष्ठ नागरिकहरुलाई पनि साँसद गोसाईले सम्मानित गरेको थियो ।













