भारतीय हस्तक्षेपकाे विराेधमा सुर्खेतमा पनि जुलुस तथा सभा

सुर्खेत, २४ कार्तिक । नेपाली भूमि लिम्पियाधुरा, कालापानी तथा लिपुलेक भारतले एकतर्फि रूपमा आफ्नो नक्साभित्र राखेको विरोधमा सुर्खेतमा विरोध जुलुस तथा सभाको आयोजना गरिएको छ ।
नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिको आयोजनामा आइतबार भएको ‘जुलुसमा कालापानी हाम्रै हो, सुस्ता पनि हाम्रै हो’, ‘लिम्पियाधुरा हाम्रै हो’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘सीमा अतिक्रमण बन्द गर’, ‘भारतीय सेना कालापानी छोड्’ लगायतका नारा लगाइएको थियो । मंगलगढीचोकबाट सुरु जुलुस नगरपरिक्रमा गरी वीरेन्द्रचोकमा पुगी सभामा परिणत भएको थियो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरी भारतलाई जवाफ दिनुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाली भूमि अतिक्रमण गर्ने भारतीय कदमविरुद्ध नेपाल सरकार तुरुन्त अन्तर्राष्ट्रिय अदालतमा जान माग गर्दै नेपाली सेना तथा सशस्त्र प्रहरी बल सीमामा अविलम्व खटाउन र खुला सीमा बन्द गर्नु पर्ने विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले शासक वर्गकै नालायकीको कारण नेपालको संविधान २०७२ को अनुसूचिको निसान छापमा कालापानी क्षेत्र गायव गरिएको उल्लेख गर्दै यो षड्यन्त्र गर्ने षडयन्त्रकारी को हो सार्वजनिक हुनुपर्ने बताउनुभयो । उहाँले पञ्चायती सरकारले सुस्ता बचाउन नसकेको, कांग्रेसले कोशी र गण्डकी भारतलाई सुम्पेको र कांग्रेस र एमाले मिलेर महाकाली बेचेको इतिहास कोट्याउँदै महाकाली नदीको मुहान किटान नगरी २०५३ सालमा महाकाली सन्धिमा हस्ताक्षर गर्ने सबै पार्टी देशघाती हुन् भन्नुभयो ।

कार्यक्रममा नेमकिपा, दैलेखका सदस्य निरकबहादुर शाहीले सुगौली सन्धिअनुसार कालापानी तथा लिम्पियाधुरा नेपालको हो भन्दै व्रि
टिस भारतले तयार पारेको नक्साअनुसार तत्काल नेपाली भूमि छोडन् माग गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य सर्जु फसिकवले भारतले सीमा अतिक्रमण गरी नेपाली स्वाभिमानमाथि धावा बोलेको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका जिल्ला सदस्य प्रेम थापामगरले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको आन्दोलनलाई अझ अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा विजुकला रानाले गीतमार्फत् देश जोगाउने आन्दोलनमा सरिक हुन अनुरोध गर्नुभयो । कार्यक्रममा विजुकला विकले सुस्ता हाम्रै हो बोलको गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो । गोविन्द योगीलगायतले बोल्नुभएको थियो ।