कोभिड १९ का बीच सहकारी संस्थाहरुको
साधारण सभा कसरी गर्ने?
भक्तपुर, श्रावण २४ गते
कोरोना भाईरस संक्रमण जोखिमको बीचमा समुदायमा आधारित सहकारी संघ संस्थाको वार्षिक साधारण सभा कसरी गर्ने ?चुनौतिको विषय भइरहेको छ । सहकारीका ५१ प्रतिशत साधारण सदस्य अनिवार्य सहभागितामा आर्थिक वर्ष अन्त भएको छ महिना भित्र बार्षिक साधारण सभा गरी सक्नुपर्ने प्रचलित कानूनलाई मध्य नजर गर्दै भक्तपुर नगरका सहकारी संस्थाहरुका प्रतिनिधीहरु बीच शनिबार सो विषयमा छलफल गरेका छन् । संसारभर फैलिएको कोरना भाइरसको जोखिमका बीचमा सहकारी संघ संस्थालाई पारिरहेको प्रभाव र गतिविधिहरु बारेमा छलफल गर्दै कार्यक्रमका प्रमुख अतिथी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद्मा लापर्वाही गरे त्यसको परिणाम आफैले भोग्नु पर्ने भएकाले कोरोना भाइरसको जोखिमको बीचमा पनि नगरको सरसफाई र स्वास्थ्य सेवालाई विशेष ध्यान दिएको बताउनु भयो । संकटको बेला सरकारले नै विशेष निर्णय र नीति बनाएर जोखिम व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्दै नगर प्रमुख प्रजापतिले संकटको बेला पनि समुदायलाई आत्मनिर्भर हुने गरी सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो । कोभिड १९को जोखिममा सहकारीका सदस्यहरुको ससानो समूह भेला गरी साधारण सभा आयोजना गर्न सकिने उल्लेख गर्नु हुँदै नगर प्रमुख प्रजापतिले खराब एउटा सहकारीले पनि सहकारी अभियान र भक्तपुर नगरकै बद्नाम गर्ने भएकाले सहकारी अभियानलाई ब्यवस्थित गर्न विभिन्न क्षमतावृद्धिका तालिमहरु आयोजना गर्नुपर्नेमा जोड दिनु भयो । कोभिड १९को संक्रमणले मानविय मात्र होइन आर्थिक, शैक्षिक, सांस्कृतिक हरेक क्षेत्रमा प्रभाव पारिरहेकाले नगरवासीहरुमा जोखिम व्यवस्थापनका लागि जात्रा पर्वलाई औपचारिकतामा सिमित गरेको उल्लेख गर्दै उहाँले मौलिक सम्पदा संरक्षणमा भक्तपुर नगरपालिकाले जोड दिदै आएको बताउनु भयो । नेतृत्वमा जो आए पनि कार्यान्वयनमा फरक नपर्ने गरी नीतिगत व्यवस्था गर्नु भनेको निर्वाचन घोषणा पत्र अनुसार काम गर्नु रहेको बताउँदै नगर प्रमुख सुनिल प्रजापतिले संस्थागत मूल्यमान्यता रहेर जनताको सेवाको लागि काम गर्नुपर्नेमा जोड दिनु भयो ।

भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले कोभिड १९को जोखिमका बीचमा पनि भक्तपुरका सहकारीहरुले समुदायको आवश्यकता अनुसार सेवा दिदै आएको बताउनु हुँदै सरकारले संकटको बेला ब्यवहारिक नीति बनाइ त्यसको सरोकारवालाहरु बीच समन्वय गरी नदिदा सहकारी सञ्चालन प्रवर्धन प्रभाव प्रभावित हुनु परेको बताउनु भयो । कोभिड १९को संकतमा सहकारी संस्थालाई बैधानिकता दिन साधारण सभा कसरी गर्ने? भन्ने सम्बन्धमा पनि सहकारी विभाग, मन्त्रालयले छिटै नीतिगत ब्यवस्था गरी दिनुपर्नेमा जोड दिदै आएको उल्लेख गर्दै उहाँले सहकारी संस्थाको अधिवेशन एवं साधारण सभालाई बैधानिकता दिने विभिन्न उपायहरु रहेको बताउनु भयो । सो सम्बधमा थप सल्लाह, सुझाव संकलनका लागि जिल्ला बचत संघले भक्तपुरका सहकारी संस्थाहरु बीच छलफल गर्दै आएकोे बताउनु भयो ।
सभाका सभापति एवं संघका सचिव जगनाथ प्रजापतिले सहकारीको साधारण सभालाई व्यवस्थापन गर्ने उपायहरुको खोजि गर्दै संघले संघलाई व्यवसायीरुपमा विकास गर्न आफ्नै भवन निर्माण थालेको बताउनु भयो । संघको भवन निर्माणमा सदस्य संस्थाहरुबाट प्रभावकारी सहयोग हुने विश्वास पनि सचिव प्रजापतिले व्यक्त गर्नु भयो भने संघका व्यवस्थापक बालकृष्ण ध्वंजूले कोरना भाइरसका कारण सहकारीमा पारेको प्रभाव र असरहरुका बारेमा जानकारी दिर्दै यो बेला संघ, नेफ्सुन, सहकारी विभाग लगायत सरोकारबाला निकायले अवलम्बन गरेका नीतिगत व्यवस्था र परिपत्रहरु बारे जानकारी दिनु भयो । साथै उहाँले कोभिड १९का बीच देश, विदेशमा सहकारी संस्थाहरुले वेविनार, ससाना समूहमा भौतिक दुरी कायम हुने गरी पटक पटक साधारण सभा आयोजना गरेको तथा साधारण सभा आयोजना गर्ने समयाबढी बढाएर भए पनि साधारण सभा गर्ने लगायत विभिन्न उपायहरु बारे सरोकारवाला निकायहरु बीच छलफल भइरहेको बताउनु भयो । नेफ्स्कूनले भने जुममार्फत साधारण सभा, डिजिटल हाजिर स्विकार्नु पर्ने, साधारण सभाको कार्यविधि बनाउने प्रस्ताव गरेको छ भने साधारण सभाको विकल्पका रुपमा प्रतिनिधीमूलक साधारण सभा, गणपुरक संख्या २५ प्रतिशत, साधारण सभाको कार्यविधि। साधारण सभाको समयावधि सार्ने, धेरै ठाउँमा समय विराएर साधारण सभा गर्ने प्रस्ताव गरी रहेको जानकारी दिनु भयो । साथै उहाँले कोभिड १९का कारण एशियाली ऋण महासंघले जुम मार्फत वेविनार गरेर साधारण सभा सम्पन्न गरेको पनि जनाउनु भयो ।

सो अवसरमा सहभागी वचत संस्थाहरुका प्रतिनिधीहरुले कोभिड १९ वाट सुरक्षित हुने गरी साधारण सभा आयोजना गर्न सहकारी शिक्षा शिविर जस्तै ससानो समूह भेला गरी गर्न सकिने, सदस्य समुदाय रहेको भेग अनुसार विभिन्न चरणमा साधारण सभा आयोजना गर्ने वा कोभिड १९को संकट नहटेसम्म साधारण सभालाई बैधानिकता दिने तथा अर्को वर्ष गर्ने गरी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिएका थिाए ।











