भक्तपुरका ३ सहित देशभर ३७८ संक्रमित ३को मृत्यु, ७ जिल्लामा कोरोना शुन्य

भक्तपुरका ३ सहित देशभर ३७८ संक्रमित ३को मृत्यु, ७ जिल्लामा कोरोना शुन्य

भक्तपुर, श्रावण २४ गते

भक्तपुरका ३ जना सहित देशभर ३७८ जनामा शनिबार कोरोना संक्रमण फैलिएको छ । यो संगै देशभर २२ हजार ५सय ९२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिलो २४ घण्टामा ४९९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्केका छन् भने थप ३ जनाको मृत्यु भएको छ । यसै गरी ७ वटा जिल्लाहरुमा कोरोना संक्रमण शुन्य जिल्ला भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट १६ हजार ३१३ जना मुक्त भएको छ भने ७३ जनाको मृत्यु भइसक्दा ६ हजार २०६ सक्रिय संक्रमित रहेका छन् । शनिबार संक्रमितहरु मध्ये काठमाण्डौ उपत्यकाका ६२ जना छन् र काठमाण्डौ जिल्लाका ५६ जना, भक्तपुर र ललितपुर जिल्लाका ३।३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७/७ जना तथा मकवानपुरका ६ जनमा संक्रमण पुष्टि भएको छ ।

रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीनजना कोरोना संक्रमितको मृत्यु पुष्टि

कोरोना भाइरसको संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको उल्लेख गर्दै मृतकको संख्या ७३ पुगेको बताएको छ ।

शनिबार  पुष्टि भएका मृतकमा दुई पुरुष र एक महिला छन् भने  मृतकमध्ये ५८ पुरुष, १४ महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

७ जिल्ला कोरोना शुन्य

सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला छन् ।