उपत्यकाका प्रशासनमा अत्यावश्यक बाहेकका सेवा स्थगित

उपत्यकाका प्रशासनमा अत्यावश्यक बाहेकका सेवा स्थगित

भक्तपुर, श्रावण २३ गते

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने भएको छ । बन्दाबन्दीपछि असार १ गतेबाट उपत्यकाको तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेकोमा सङ्क्रमणको जोखिम बढेको भन्दै साउन २५ गतेदेखि सेवा स्थगित गर्ने निर्णय गरेको हो । आज काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित बसेको संयुक्त बैठकले भदौ ८ गतेसम्म सेवा स्थगित गर्ने निर्णय गरेको हो । सरकारी निर्णय अनुसार असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वय गराउने, दुई मिटरको दुरी कायम गराउने, मास्क लगाउने व्यवस्था मिलाउँदै सेवा सञ्चालन गरिरहेको भए पनि मानिसका भीडभाड बढेकाले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 116797087_2661666300827120_2934309026277032842_o.jpg

मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिक परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगित गरिएको जनाइएको छ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य अत्यावश्यक कामका लागि सवारी पास र विपद व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ । अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवा ग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने छ । अनावश्यक भिडभाड नगरी दुई मिटरको भौतिक दूरी राखेर सेवा लिनुपर्ने विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य मापदण्ड नअपनाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जनाइएको छ । ऐनमा एक महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय गर्न सक्ने व्यवस्था छ ।