पाँच तल्ले मन्दिरको आज वर्षबन्दन, झण्डातोलन हुने

भक्तपुर, असार ८ गते
आज असार शुक्रप्रतिपदा, विश्व सम्पदामा सूचीकृत भक्तपुरको पाँचतल्ले मन्दिरको जन्मदिन मनाइदै छ । मन्दिरको गजुरमा झण्डातोलन गर्दै परम्परागत शैलीमै पूजापाठका साथ यस वर्ष पनि सो मन्दिरको स्थापना दिवस मनाउने भएको तलेजुका मुख्य नाइके नरेन्द्र जोशीले बताएका छन् । तलेजु र पाँचतल्ले मन्दिर आँगन देवताकै रुपमा पुज्दै आएकाले सिमित व्यक्तिहरुले मात्रै पूजापाठ गर्दै आएको उहाँले बताउनु भयो । तुचिमलाका अवालहरुले मन्दिरको जिणोद्धार गर्दै झण्डा तोलन गर्ने परम्परा धान्दै आएको छ, यस वर्ष पनि उहाँहरुले नै झण्डा तोलन गर्ने तयारीमा रहेको उहाँले बताउनु भयो ।
मल्ल राजा भूपतेन्द्र मल्लले नेपाल सम्वत ८ सय २२ पौस शुक्र नवमीका दिनबाट निर्माण कार्य थालेको पाँच तल्ले मन्दिर सोहि वर्ष आजको दिन असार शुक्रप्रतिपदाको दिनमा निर्माण सम्पन्न गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै आज पाँचतल्ले मन्दिरको वर्षवन्दन हुने भएको हो । नेवार समुदायको अतुलनीय बास्तुकलाको ज्वलंत उदाहरण पाँचतल्ले मन्दिरको प्रविधि र सभ्यताले सबैलाई आक्रसित गरिरहेको छ । पाँच तल्ले मन्दिर हेर्दा जति मनमोहक लाग्छ, यस मन्दिरको इतिहासलाई केलाउँदा थप जिज्ञासु बनाउने खुराकका तथ्यहरु यस मन्दिरमा लुकेका छन् । नेपालमै पहिलो पटक नक्सांकन गरी ६ महिनाको छोटो समयाबधिमा निर्माण सम्पन्न गरेको पाँच तल्ले मन्दिर संसारकै अग्लो मन्दिरमा गनिएको छ । विशाल पाँच तल्ले मन्दिर राजा देखि जनतासँगसँगै मिलेर बनाएको नेवार कलाशिल्पिहरुको अनुपम नमूनाको जीवन्त सभ्यता पाँच तल्ले मन्दिरको वर्षवन्दनले दर्साइरहेको छ ।

ब्यापक जनसहभागिता र जनश्रमदानद्वारा जिर्णोद्धार भई रहेको पाँचतल्ले मन्दिरको जन्मदिन अर्थात वर्ष बन्दन जसलाई भुसा दां आज मनाउँदै छ । यसै ऐतिहासिक दिनलाई सम्झन्दै पाँच तल्ले मन्दिरको भुसा दां मनाउनेक्रममा कोरोना भाइरसको जोखिमका कारण यसपालि हाँस र बोकाको बलि भन्ने नदिने भएको नाइके जोशीले बताएको छ । कोरना भाइरसको जोखिमका कारण यसपालि पाँचतल्ले मन्दिरको वर्षबन्दन कार्य पनि विशेष तरिकाले मनाउने भएका हुन । तलेजुको आयस्ताको रुमा रहेको हजारौं रोप्नीका बहुमुल्य जग्गाहरु उहिल्यको सरकारले रैतानी गर्न दिएपछि तलेजुसँग जोडिएका यस्ता ऐतिहासिक परम्परा धान्न गाह्रो भइरहेको तलेजुका नाइके जोशीको भनाई छ । यसमा सरकारले हेर्नुपर्ने हो, अहिलेसम्म हेरेको छ्रैन उनले गुनासो गरेका छन् ।

ऐतिहासिक मन्दिरको वर्षवन्दन तिथी मितिकै आधारमा हुने भएकाले हरेक वर्ष वर्षबन्दन हुने गतेमा केही फरक देखिएको उल्लेख गर्र्दै नाइके जोशीले यसपालिको वर्षवन्दन असार ८ गतेको दिन रहेको जनाएको हो ।
वर्षवन्दनले मन्दिर बनाएको ऐतिहासिक दिनको सम्झना दिने बताउँदै संस्कृतिविद ओमप्रसाद धौभडेलले तलेजुको विशेष पूजा तन्त्रविधि अनुसार परम्परागत शैलीमा हुने बताउँदै मन्दिरको गजुरमा झण्डातोलन समेत गर्ने परम्परा रहेको उहाँले बताए । मल्ल राजा भुपतेन्द्र मल्लले ब्यापक जनसहभागितामा ६ महिनामा निर्माण कार्य पूरा गरेको भनिएको पाँच तल्ले मन्दिरको वर्षवन्दनको दिनको अवसरमा भुसा दां गरी मन्दिर परिसरमा सरसफाई तथा मर्मत संभार कार्य सम्मेत हुँदै आएको उहाँले बताउनुु भयो । भक्तपुर नगरका विभिन्न जातजातिका समूदायले आआफ्नो जिम्मेवारी पूरा गर्दै पाँच तल्ले मन्दिरको आज बर्षबन्दन हुँदै छ ।
असार अगाडी जिर्णोद्धार सम्पन्न गर्ने गरी भक्तपुर नगरपालिकाले थालेको जिर्णोद्धार कार्य लक डाउनले प्रभावित भएपनि व्यापक जनश्रमदानको सहयोगमा जिर्णोद्धार कार्य भइरहेको छ । मन्दिरको ५,४,३ औं तल्लको झिंगति छाउने कार्य सम्पन्न गरेको छ । वर्षाका कारण बाँकी जिर्णोद्धार कार्य प्रभावित भइरहेको छ । यद्यपी ३ सय १९ वर्ष पूरानो पाँच तल्ले मन्दिरको जिर्णोद्धार कार्य जारी छ । जिर्णोद्धारसँगसँगै आज मन्दिरको वर्षवन्दन पनि हुँदै छ ।