भक्तपुर, जेष्ठ १३गते
भक्तपुरका पत्रकारहरु पीपीइ लगाएर समाचार संकलन गर्न सक्ने भएका छन् । भक्तपुर इटा भट्टा व्यवसायी संघ र भक्तपुर ट्क व्यवसायी संघले आज भक्तपुरका क्रियाशिल पत्रकारहरुका लागि पीपीइ सेट, मास्क र स्यानेटाइजार वितरण गरेपछि पत्रकारहरुले पीपीइ सेट लगाएर समाचार संकलन गर्न सक्ने भएका हुन । जनसम्पर्कमा रहेर समुदायको बीचमा समाचार संकलन र प्रशारणमा जुति रहेन पत्रकारहरुको सुरक्षाको लागि यी स्वास्थ्य सामग्री वितरण गरेको संघले जनाएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरका ४७ जना पत्रकारहरुलाई लक्षित गरी यी सामग्री वितरण गरेको ट्क व्यवसायी संघका अध्यक्ष लक्ष्मिप्रसाद गोराले जनाउनु भयो ।

यस भन्दा आगाडी पनि भक्तपुर नगरपालिकाका लागि स्वास्थ्य सामग्री वितरण गरिसकेको सो संघहरुले आज पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो । पत्रकारहरुको सुरक्षित समाचार संकलनलाई ध्यान दिएर संघले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुस्कर बुढाथोकीले यसले सत्य तथ्य समाचार संकलन र प्रशारण गर्न प्रोत्साहित गरेको बताउनु भयो । संघका सल्लाहकार विश्वराम कवांले कोरना भाइरसको संक्रमणले उद्योग व्यवासय र रोजगारी समेत धरासायी भएको उल्लेख गर्दै सुरक्षित व्यवहारका लागि अनुरोध गर्नु भयो भने भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाई ह्यौवाले लक डाउनका कारण इटा भट्टाले यस पालि पर्याप्त इटा उत्पादन गर्न नसक्दा उद्यमी व्यवसायी देखि मजदुरहरु समेत प्रभावित भएको उल्लेख गर्दै भक्तपुरमा अझै ३ हजार भारतीय मजदुरहरु अल्पत्र अवस्थामा रहेकाले तिनीहरुलाई स्वदेश फकाउर्न व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।














