फैसला कार्यान्वयनतर्फका तीन फरार प्रतिवादी भक्तपुरबाट पक्राउ
भक्तपुर, मंसिर ३ । जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतको फैसला कार्यान्वयनको सिलसिलामा विभिन्न मुद्दाका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ।
प्रहरी परिसर भक्तपुरसहित प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले मिति २०८३ मंसिर ३ गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दाका १ जना र चोरी मुद्दाका २ जना प्रतिवादी रहेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार कार्कीका अनुसार पक्राउ परेकाहरूबाट कुल ४ लाख ४१ हजार ६ सय रुपैयाँ जरिवाना असुलउपर हुन बाँकी रहेको थियो। जसमा बैंकिङ कसुर मुद्दाका एक प्रतिवादीबाट ४ लाख ४० हजार रुपैयाँ र चोरी मुद्दाका दुई प्रतिवादीबाट १ हजार ६ सय रुपैयाँ जरिवाना तोकिएको छ।
पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि बिहीबार नै सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।













