वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने

काठमाडौं,
कात्तिक १५ ।

वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने भएको छ । टीका गोपाल प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका सल्लाहकार सन्तोष श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थितिमा भएको बैठकले यही साता काठमाडौंमा विशेष समारोह आयोजना गरी दाहाललाई सम्मान गर्ने जनाएको छ ।

यसअघि उक्त पुरस्कार कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ तथा कीर्तिमानी गीतकार डा.उपाध्यायलाई प्रदान गरिएको थियो । नेपाली गीतसंगीत क्षेत्रको प्रवर्द्धन तथा स्रष्टाहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना मातापिताको नाममा यो पुरस्कार स्थापना गर्नुभएको हो ।

साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध पक्षलाई सिर्जनामार्फत अभिव्यक्त गर्दै नेपाली वाङ्मयको समृद्धिमा पुर्‍याएको योगदानको कदरस्वरूप दाहाललाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । शब्दलाई साधना, सिर्जनालाई जीवनदर्शन र साहित्यलाई समाजको ऐनाका रूपमा आत्मसात् गर्दै आउनुभएका दाहाल नेपाली साहित्यका बहुआयामिक स्रष्टाका रूपमा परिचित हुनुहुन्छ ।

दाहालका सिर्जनामा जीवनका अनुभूतिसँगै समाजका आरोह–अवरोह, सांस्कृतिक चेतना, दार्शनिक प्रश्न र मानवीय संवेदनाका विविध आयाम समेटिएका छन् । उहाँका ‘श्रद्धाञ्जलि’ कवितासंग्रह, ‘रश्मी’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिँढी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास तथा ‘सिर्जनामा दृष्टि’ भूमिकालेखनसंग्रह प्रकाशित छन् ।

उहाँको साहित्यिक व्यक्तित्व र सिर्जनामाथि पनि विभिन्न अध्ययन तथा समालोचनात्मक कृति प्रकाशित भएका छन् । ‘नव छायावादको छवि’, ‘खेमनाथ दाहाल : सिर्जना र मूल्यांकन’ तथा ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’लगायतका कृतिले उहाँको साहित्यिक योगदानलाई विभिन्न कोणबाट विश्लेषण गरेका छन् । ‘मिलाप’, ‘जनमत’ र ‘बगर’लगायतका साहित्यिक पत्रिकामा उहाँका कभर स्टोरीसमेत प्रकाशित भएका छन् ।

साहित्यमा मात्र सीमित नरहेको दाहालको सिर्जनात्मक यात्रा संगीत क्षेत्रमा समेत विस्तारित छ । उहाँका काव्यिक भाव र चेतनालाई संगीतसँग जोडेर तयार पारिएको गीति एल्बम ‘जागृति’ श्रोता तथा दर्शकमाझ आएको छ । ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीत समेटिएको उक्त एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ लगायतका गीत समावेश छन् ।

एल्बमका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’ गीतमा कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ । त्यसैगरी ‘बित्छ बिहान आमाको’मा ज्ञानु राणा र ‘गाउँछौ अब लौ आमाका गीत’मा रमेश पाठकले स्वर दिनुभएको छ ।

साहित्य र संगीतलाई सिर्जनात्मक रूपमा जोड्दै नेपाली वाङ्मयमा योगदान पुर्‍याउँदै आउनुभएका दाहाललाई प्रदान गर्न लागिएको यस सम्मानले नेपाली साहित्य तथा गीतसंगीत क्षेत्रका स्रष्टाको योगदानको कदर गर्ने अपेक्षा गरिएको छ ।