विपदमा सहकारीको वित्तिय सेवा व्यवस्थापन र यसका चुनौती

भन्छन् विपद कुनै बाजा बजाएर आउदैंन । संसारमा विपद एक पछि अर्को आइरहेको हुन्छ । यसको रुप र स्वरुप मात्र फरक हुन्छ । हाल विश्वमा कोराना भाइरसको संक्रमणको त्रासमा छन् । भाइरसबाट लाखौं मानिस संक्रमित छन् । संक्रमित हुने क्रम बढ्दो छ । संक्रमणबाट लाखौं व्यक्ति निको पनि भइरेको छ भने मृत्यु पनि भइरहेको छ । तर तथ्यांकले संक्रमणबाट मृत्यु हुने भन्दा तीन चार गुण निको भएको देखाएको छ । हालसम्म भाइरसको औषधि पत्ता लागेको छैन । विश्वभर भाइरसको संक्रमणबाट बच्न बचाउन विभिन्न उपायहरु अपनाइरहेका छन् । भाइरसको रोकथाम तथा नियन्त्रणको उत्तम विकल्प बन्दाबन्दी (लकडाउन)को अभ्यासलाई विश्वले अबलम्बन गरिरहेको छ । नेपालले पनि यहि अभ्यासलाई अबलम्बन गरेको एक महिना भन्दा बढी भइसकेको छ । भाइरस संक्रमणको संख्यालाई हेर्दा बन्दाबन्दीको अभ्यासले रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भुमिका खेलेको देखिन्छ ।

बन्दाबन्दीका कारण विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ । अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा थप्प छन् । अरबै सक्रिय मानव संसाधन प्राय निष्क्रिय अवस्थामा छन् । करोडौ मानिस बेरोजगार भइरहेको छ । अझ नगदमा आधारित अर्थतन्त्र भएको राज्यका लागि बन्दाबन्दी कठिन अवस्था हो । नेपालको अर्थतन्त्र नगदमा आधारित छ । नेपालले बन्दाबन्दीको अवधिमा बैंकलाई अति आवश्यक सेवाको सुचिमा राखिएको छ । बैंकले सिमित सेवा पनि सबै शाखाले नियमित दिन सकिरहेको छैन । बैंकको सिमित सेवा पनि अपूर्ण देखिन्छ । साथै बैंकको बैंकिङ पहुँच नपुगेका नगरिकले स्थानीय सहकारी संस्थाबाट सेवा लिइरहेको देखिन्छ । सहकारीलाई सेवा संचालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिइरेको अवस्था छैन तर सहकारी विभाग र प्रदेश सरकारले स्थानीय प्रशासनसंग समन्वय गरी सिमित सेवा नियमित संचालन गर्न अनुरोध गरिरहेकोछ ।

सहकारी स्वनियम र स्वउत्तरदायित्वमा संचालित स्वयत संस्था हो । अन्र्तराष्ट्रिय सहकारी मुल्य मान्यता र नियम कानुनलाई पालना गदै समुदायमा सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारी संचालित हुन्छ । विपद्को समयमा पनि सदस्य र समुदायको हितको लागि सहकारी सक्रिय रहेकोछ । सहकारीले नेपाल सरकारले घोषण गरेको बन्दाबन्दीको स्वागत गरेकोछ । यस विषम परिस्थितिमा सदस्य र समुदायलाई सुरक्षित निरन्तर वित्तीय सेवा प्रदान गर्नु व्यवस्थापनका लागि एउटा चुनौती बनेको छ । त्यसका बाबुजुद पनि वित्तिय सहकारी संस्थाहरुले सदस्यलाई सुरक्षित सेवा प्रदानका लागि तपसिलका असल अभ्यास तथा विधिहरु विकास गरी सेवा व्यवस्थापन गरेकोछ ।

१) समय अनुकुल आंशिक कार्यालय संचालन विधि
बन्दा बन्दीको समयमा स्थानीय तह तथा प्रशासनको समन्वयमा अतिआवश्यक सेवाको लागि घर बाहिर निस्कन अनुमति दिएकोे समयमा संस्थाको आंशिक कार्यालय संचालन गर्न सकिन्छ । यस विधिबाट अति आवश्यक सेवा लिन दिन सदस्य र संस्थालाई सहज हुन्छ । समुदायमा आधारित र भौगोलिक रुपमा सहज भएको क्षेत्रमा यो विधि अति प्रभावकारी देखिन्छ । कर्मचारीलाई आलो पालोको प्रणाली विकास गरी आंशिक कार्यालय संचालन मार्फत अतिआवश्यक सेवाहरु सुरक्षित उपायहरु अबलम्बन गरिइरहेको छ ।

२) प्रविधिमा आधारित सेवा विधि
वित्तिय सहकारी संस्थाले समय अनुसार नीति, विधि र प्रविधि अपनाएका छन् । संस्थाले सदस्यको कारोबारमा सहजताका लागि इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, एटीएम र अन्य ई सेवाका उच्च प्रविधि मार्फत सेवा दिदै आएकोछ । बन्दाबन्दीको अवधिमा यी प्रविधिहरुको प्रभावकारी संचालनबाट सदस्यले टेलिफोन महशुल, खानेपानीको महशुल, मोबाइल, विद्युत महशुल घरमै बसी भुक्तानी गर्न सक्छन् । अति आवश्यक सामानहरु खाद्यान्न, औषधि र लत्ताकपडा खरिद अनलाइन मार्फत गर्न सकिन्छ । एउटा बैंकको खाताबाट अर्को बैंकको खातामा रकम ट्रान्सफर गर्न सक्छ । यो इन्टरनेटमा आधारित सेवा भएकोले इन्टरनेट पहुँच भएका सहकारी र सदस्यले मात्र यस मार्फत वित्तिय सेवा दिन र लिन सक्छ । यस अर्थमा सहरी क्षेत्रको सहकारीलाई प्रविधिमा आधारित सेवा प्रभावकारी हुन्छ । तर ग्रामिण क्षेत्रका वित्तीय सहकारीका लागि प्रविधिमा आधारित सेवा विधि अबलम्बनमा चुनौती रहेको छ ।

३) व्यक्ति व्यक्ति वित्तीय सेवा विधि
यस विधि अनुसार सहकारीले कार्यक्षेत्र अनुसार सम्पर्क व्यक्ति तोक्छन् । ती तोकिएका व्यक्तिलाई सहकारीले सिमित रकम भुक्तानीको लागि
रकम उपलब्ध गराएको हुन्छ । सदस्यले आफुुलाई पायक पर्ने व्यक्तिहरुलाई टेलिफोन तथा अन्य माध्यमबाट सम्र्पक गरी सिमित वित्तिय सेवा प्राप्त गर्न सक्छन् । यो विधिले कार्यक्षेत्रको सबै सदस्यलाई सेवा पु¥याउन सहज हुन्छ । तर यस सेवामा खाता व्यवस्थापनमा चनाखो हुनुपर्छ । कारोबार गर्ने सदस्यको पहिचान, कारोबार गर्ने खातामा रकम रहे नरहेको निश्चिता र कारोबारको व्यवस्थित लेखाँकनमा व्यवस्थापनले विशेष ध्यान पु¥याउनुपर्ने देखिन्छ ।

४) सुरक्षित घर दैलो सेवा विधि
संस्थाका कर्मचारी सुरक्षित सदस्यको घर घरमै गई सेवा दिने विधि हो । यस विधि अन्तर्गत सदस्यको नियमित बचत तथा व्याज तथा साँवा संकलनका साथै कोरोना भाइरसको संक्रमणबाट बच्न जनचेतना सन्देश प्रबाह गर्न सकिन्छ । यस विधिबाट आवश्यक सदस्यलाई सिमित रकम पनि घर घरमै पु¥याउन सकिन्छ । सिमित कार्यक्षेत्र र सदस्य संख्या कम भएका सहकारी संस्थाको लागि यो सहज, सजिलो र प्रभावकारी हुन्छ । तर कार्यक्षेत्र र सदस्य धेरै भएका सहकारी संस्थाका लागि यो विधिबाट सेवा पु¥याउन कठिन हुन्छ ।
५) निश्चित समय र स्थान तोकी सेवा दिने विधि
यस विधि अनुसार सदस्यले संस्थामा आवश्यक सेवाको लागि टेलिफोन मार्फत सम्पर्क गर्दा सेवाका लागि निश्चित समय र स्थान तोकी सेवा दिइन्छ । संस्थाको कर्मचारी आफै गई सेवा दिने भएकोले सुरक्षित समय स्थानमा सेवा प्रवाहमा यस विधिबाट सुनिश्चित हुन सकिन्छ । यो विधि कम सदस्य भएको र भौगोलिक रुपमा टाढा भएका सदस्यलाई उपयोगी हुन्छ । तर समय आधारमा यो सेवा विधि बढी महंगो पर्छ ।

समुदायमा आधारित वित्तीय सहकारी संस्थाहरुले उल्लेखित सेवा विधिहरुमध्ये पायक पर्ने विधि अनुसार विषम परिस्थितिमा पनि सेवाको व्यवस्थापन गरि रहेको छ । स्थानिय प्रशासन र स्थानीय तहको समन्वयमा ती सेवाहरु व्यवस्थापन प्रभावकारी हुने देखिन्छ । तर संघीय, प्रदेश र स्थानीय तह बिच समन्वय नहुँदा वित्तीय सहकारीको सेवा सहज ढंगबाट पु¥याउन कठिन भएको छ । बन्दाबन्दीमा बैंक तथा वित्तिय संस्थाहरु खोल्न सरकारले अनुमती दिएकोछ । तर बैंक तथा वित्तीय संस्थाहरुले यस बेला सेवा दिन सकिरहेको छैन । बैंकले आफ्नो ग्राहकलाई सेवा दिने भएकोले होला बैंक यति बेला ग्राहकलाई गर्ने व्यवहार नै गरिरहेको छ । आफ्नो दायित्व मात्र पुरा गर्ने तरिकाले सिमित शाखा संचालन गरी सिमित कारोबार मात्र गरी रहेको छ । अर्को शब्दमा भन्ने हो भन्ने झाडा तार्ने कार्य मात्र गरी रहेको देखिन्छ ।

वित्तीय सहकारी संस्थाहरुले प्रदान गर्ने सेवा बैंकले दिने सेवासंग प्रभावित हुन्छ । सहकारी संस्थाको तरलता बैक वित्तीय संस्थामा रहने भएकोले बैंकले प्रयाप्त मात्रामा सेवा दिएमात्र सहकारी संस्थाले आफ्नो प्रभावकारी सेवा दिन सकिने देखिन्छ । तसर्थ यस परिस्थितिमा वित्तीय सहकारी संस्थाहरुले आफ्नो तरलताको रकम आफ्नै संजालमा राख्ने अभ्यासमा जोड दिनुपर्ने देखिन्छ । हाल बैंकले दुखको घडीमा पनि बचतमा व्याजदर घटायो । तर सहकारीले बचतको व्याजदर यथावत तै राखियो । स्वाभाविक रुपमा बैंकले आफ्नो नाफामा केन्द्रीत हुन्छ । त्यही अनुसारको व्यवहार देखाउनु कुनै नौलो कुरा भएन । सहकारी संस्था सेवामुखी व्यवसायलाई जोड दिन्छ । यी व्यवहारले सहकारी र बैंकको फरकता छुट्याई दिएकोछ । सहकारी सुख र दुःखको सारथी हो भन्ने कुरा पुष्टि गरेकोछ । यस विपदलाई सहकारीले अवसरको रुपमा ग्रहण गरी वित्तीय सेवा व्यवस्थापन गरी चुनौतीको सामना गरी रहेकोछ । यस चुनौतीलाई सहज बनाउन सम्बन्घित निकायहरु एकजुट भई समन्वय र सहकार्य गर्नु पर्ने देखिन्छ ।

लेखक ः बालकृष्ण धोजु
व्यवस्थापक भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.