कोरना परीक्षण टोल टोल अभियान: भक्तपुर नगरमा आज देखि सुरु हुने

भक्तपुर, ८ बैशाख
कोरना भाइरसको संक्रमण रोकथामका लागि सोमबार देखि भक्तपुरमा टोल टोल कोरना भाइरस परीक्षण अभियान सञ्चालन हुने भएको छ । संसारभर फैलिरहेको कोरना भाइरसको जोखिमलाई मध्य नजर गर्दै विदेशबाट फर्किएका व्यक्ति र संभावित ब्यक्तिहरुको कोरना भाइरस परीक्षण अभियान भक्तपुर नगरमा आजबाट हुने भएको हो । जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्राविधिकहरुबाट यो अभियान आजबाट सुरु गर्ने भएको हो । आज विहान ११ बजे भनपा १० कमलविनायक सरस्वती विद्या पीठको प्रांगणबाट भक्तपुर नगरमा सो परीक्षण अभियान सुरु हुने केन्द्रका प्रमुख डाक्टर रत्नसुन्दर लासिवाले बताउनु भएको छ ।
विदेशबाट चैत्र १ गतेपछि भक्तपुर आएका ब्यक्ति र संभावित ब्यक्तिहरुको द्ु्रटगति अर्थात आरडिटिबाट परीक्षण अभियान आजबाट सुरु हुने उहाँले बताउनु भयो । पहिलो दिन भनपा १० वडाका सम्पूर्ण र ९ वडाका संभावित व्यक्तिहरुको परीक्षण हुने उहाँले जनाएको छ । भक्तपुर नगरमा मात्रै १०६ जना विदेशबाट आएकाहरुको पहिचान गरेका छन् । भनपा १,२ र ३ का संभावित व्यक्तिहरुको भक्तपुर अस्पतालबाट परीक्षण गरिसकेको भन्दै डाक्टर लासिवाले भनपा १०बाट बाँकी ब्यक्तिहरुको परीक्षण अभियान क्रमिकरुपमा भक्तपुर नगरमा सञ्चालन हुने बताउनु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भक्तपुर नगरपालिकासँगको समन्वयमा भक्तपुर नगरमा आज देखि कोरना भाइरसको दु्रत गति परीक्षण विधिबाट कोरना भाइरसको परीक्षण गरिने भएको हो । सूर्यविनायक अस्पतलमा हिजो ४ जनाको परीक्षण भएको कार्यालय प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले जनाउनु भएको छ । कोरना भाइरसको हब भक्तपुर अस्पतालबाट हिजोसम्म २५८ जनाको परीक्षण गरिसकेका छन् । परीक्षण गरिएका सबैको नेगेटिभ रहेको पनि उहाँले बताउनु भयो ।
कार्यालय प्रमुख मिजारका अनुसार भक्तपुरका कोरना भाइरस रोकथाम र उपचारका लागि भक्तपुरका ८ वटा सरकारी, सामुदायिक र निजि अस्पतालहरुमा ११४ वटा आइसोलेशन कक्ष तयारी अवस्थामा राखेको छ भने ५० वटा आइसोलेशन कक्ष कोरना भाइरस संक्रमितहरुको उपचारको लागि तयारी अवस्थामा राखेको छ । यसै बीच भक्तपुरका अस्पतालहरुमा २८ वटा आइसियु पनि तयारी अवस्थामा रहेको कार्यालय प्मुख मिजारले जनाउनु भएको छ ।
कोरना संक्रमण रोकथामको उचित र प्रभावकारी विकल्प लक डाउन नै भएको भन्दै उहाँले संभावित व्यक्तिहरुको परीक्षण चाँगुनारायण नगरपालिकाले सम्पन्न गरिसकेको भन्दै भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा भने सुरु भएको जनाएको छ । सूर्यविनायक नगरपालिकाले सूर्यविनायक अस्पताल दधिकोटबाट र मध्यपुर थिमी नगरपालिकाले मध्यपुरस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट सुरु भएको जनाएको छ भने भक्तपुर नगरपालिकामा भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर च्याम्हासिहको संयोजनमा भक्तपुर नगरका टोल टोलमा कोरना भाइरसका संभावित व्यक्तिहरुको परीक्षण अभियान सञ्चालन गर्ने भएको हो ।