हंंसबाहिनीले मनाए आज ७३ औं वार्षिकोत्सव

हंंसबाहिनीले मनाए आज ७३ औं वार्षिकोत्सव
भक्तपुर, चैत्र ८ गते
हंंसबाहिनी आधारभूत विद्यालयले आज ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस, शिक्षक सम्मान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । २००८ सालमा स्थापना भएको सो विद्यालयले २००९ साल जेष्ठ २९ गते स्वीकृत भई व्यक्तिको घर आंगन, द्योछें, पाटी सटल हुदै आफ्नै भवनबाट अध्यापन गराउँदै आएको छ । कुनै बेला निकै कम विद्यार्थी भई सकेको यस विद्यालयमा गुणस्तरीय र बैज्ञानिक एवं व्यवहारिक शिक्षाकालागि जोड दिन थालेपछि शैक्षिक उन्नयनका साथै विद्यार्थी संख्या पनि बृद्धि हुँदै आएको छ।
दुई सय विद्यार्थीलाई पढाउन सक्ने जनशक्ति र कक्षा कोठा भए पनि बालबालिकालाई खेलाउने स्थान अभावका कारण भने ७८ जना विद्यार्थीहरुलाई मात्र अध्ययन अध्यापन गराउँदै आएको सो विद्यालयले भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा आज वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको थियो । बालबालिकालाई शिक्षाबाट बञ्चित नहोस भनेर गुणस्तरीय र शुलभ शिक्षा दिन भक्तपुर नगरपालिकाले शिशु स्यहार देखि स्नाकोत्तर तहसम्मका स्कूल विद्यालयहरु सञ्चालन गर्दै आएको उल्लेख गर्दै उपप्रमुख जोशीले पैसाको अभाबले पढाई नछुटो भनेर नगरपालिकाले सहुलियतपूर्ण शैक्षिक ऋणबाट पनि प्रदान गर्दै आएको बताउनु भयो ।


सो अवसरमा शिक्षाप्रेमी हिमालयश्वरलाल मुलले सामुदायिक विद्यालयको स्नोतिकालागि स्थानीय जनताको अपनत्व हुनुपर्ने चर्चा गर्दै आधारभूत विद्यालयतहबाटै बालबालिकाको चौतर्फि विकास हुने शिक्षा दिन आवश्यक तयारी गर्नुपर्नेपक्षहरुमा विद्यालयको ध्यानाकर्षण गराउनु भयो भने स्थानीय वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले स्थानीय जनताका छोराछोरीको शैक्षिक उन्नयनकालागि सामुदायिक विद्यालयको महत्वमाथि प्रकश पार्दै वडाका गतिविधिहरु बारे जानकारी गराउनु भयो ।


समुदायका छोरा छोरी पढाउन नीजि विद्यालयमा आकर्षित भइरहेको बेला आफ्नो छोरालाई समेतसोही विद्यालयमा पढाउँदै आएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालले सो अवसरमा आफ्ना छोरा छोरीको पढाई प्रति अभिभावकहरुले नियमित निगरानी राख्नुपर्ने धारणा राख्नु भयो । सो अवसरमा विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक सूर्यवहादुर फोजूले सो विद्यालयबाट पि.जी, नर्सरी, यू.के.जी. २,३,४ र ५ कक्षासम्म गुणस्तरीय र बैज्ञानिक शिक्षा प्रदान गर्ने अभ्यासरत रहेको जानकारी दिदै सो विद्यालयबाट दिक्षित भएको विद्यार्थीहरुले स्वदेश तथा विदेशमा समेत नेपाल आमाको प्रतिष्ठा कायम गर्न सफल भएको उदाहरणहरु प्रस्तुत गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयका शिक्षिका लक्ष्मीश्वरी कर्माचार्यले स्वागत तथा चन्द्रलक्ष्मी दुवालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
सो अवसरमा प्रमुख अतिथि जोशी सहितका अतिथिहरुले शिक्षक शिक्षिका तथा अभिभावकहरुलाई सम्मानित गर्दै विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभयो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेको थियो ।