विश्व मृगौला दिवस :गरिब जनताको सेवा गर्ने लक्ष्यका साथ अस्पतालको स्थापना हुनुपर्छ अध्यक्ष बिजुक्छे

भक्तपुर । २०७६ फागुन २९ गते, बिहीबार
‘अस्पताल तथा कुनै संघ–संस्था भनसुन वा प्रभावले चल्ने भन्दा पनि नियमसंगत र स्वाभाविक रुपमा सञ्चालन हुनुपर्छ । गरिब जनताको सेवा गर्ने लक्ष्यका साथ अस्पतालको स्थापना हुनुपर्छ ।’ उक्त भनाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विश्व मृगौला दिवस २०२० को अवसरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा व्यक्त गर्नुभयो । हरेक व्यक्तिले समाजको निम्ति योगदान गर्नुपर्ने र समाजको निम्ति काम गर्ने व्यक्ति समाजका सम्मानित व्यक्ति हुने उहाँले बताउनुभयो ।

भक्तपुरमा सञ्चालित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देशभरिका मृगौला रोगीहरूलाई सहज रुपमा सेवाहरू उपलब्ध गराउँदै आएको छ भन्नुहुँदै अध्यक्ष बिजुक्छेँले केन्द्रको सेवा सुविधाबाट भक्तपुरबासीहरू स्वास्थ्य सेवाबाट लाभान्वित भएको बताउनुभयो ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सात वर्ष अगाडि मानव अंग प्रत्यारोपण केन्द्रको नाममा स्थापित यस केन्द्रको सक्षम नेतृत्व र टीम वर्कले गर्दा भक्तपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मृगौला रोगको उपचार सम्भव भएको बताउनुभयो ।

अस्वस्थ खानपिन र व्यस्त जीवनशैलीका कारण नसर्ने रोगको जोखिम बढिरहेको इंगित गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले कडा रोग लागेका नगरबासीहरूको लागि रु. १०,००० आर्थिक सहयोग प्रदान गर्दै आएको र नगरको सबै वडामा व्यायामशालाको स्थापना गरिसकेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. यादव कोइरालाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ रोगको जोखिम मृगौला, चिनी रोगी, क्यान्सरलगायतका कडा रोग लागेका रोगीमा छिट्टै संक्रमणको खतरा हुने हुँदा सबैले आ–आफ्नो ठाउँबाट सचेतनाका कार्यक्रमलाई जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले अस्पतालको कार्य प्रगतिबारे प्रस्तुती दिनुहुँदै जटिल अवस्थाको मृगौला रोगको सफल रुपमा उपचार भइरहेको अवगत गराउनुभयो ।


प्रा.डा. गुनकुमार श्रेष्ठले मृगौला रोगको जोखिम न्युन गर्न जनचेतनाका कार्यक्रमको खाँचो औंल्याउनुहुँदै सानो चिकित्सकको सल्लाहबमोजिममात्र औषधि सेवन गर्नुपर्ने र जथाभावी पेनकिलरको प्रयोग नगर्न आह्वान गर्नुभयो ।
वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले मानव शरीरमा लाग्ने सम्पूर्ण रोगको खतरा बराबर हुने बताउनुहुँदै आम जनतामाझ जनचेतना अभिवृद्धि गर्दै सचेत गर्ने काममा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रा.डा. रजनी हाडाले मृगौला रोगको रोकथाम गर्न हरेक व्यक्तिले आफ्नो स्वास्थ्यबारे सचेत हुनु आवश्यक भएको र मृगौला रोगीहरू दिन प्रतिदिन बढिरहनु चिन्ताको विषय भएको बताउनुभयो । ‘पिसाब जँचाऊ, मृगौला बचाऊ’ नारालाई अंगाल्दै नियमित स्वास्थ्य जाँचले सम्भावित रोगबाट बच्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा मृगौला विशेषज्ञ डाक्टर इमा मोन्टेग्रिमेरी र डा. डेभिड ताल्बोटले मृगौला रोगबारे प्रस्तुतीकरण देखाउनुभएको थियो भने केन्द्रका प्रशासन प्रमुख भानुभक्त न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले विशेषज्ञ डाक्टरहरू मोन्टेग्रिमेरी र ताल्बोटलाई दोसल्ला ओढाइ, सम्मानपत्र हस्तारण तथा भादगाउँले टोपी लगाई सम्मान गर्नुभयो ।