मैथिली एवं भोजपुरी भाषालाई कामकाजी बनाउन अध्ययता बीच आज छलफल हुने
भक्तपुर, श्रावण ५ गते
मैथिली एवं भोजपुरी भाषालाई पनि कामकाजको भाषाको रुपमा प्रचलनमा ल्याउने सम्भावनाहरु बारे छलफल गर्न काठमाण्डौ स्कूल अफ लले संगोष्ठी आयोजना गर्ने भएको छ । मैथिली भोजपुरी भाषा साहित्यका पारखिहरुले आज सो कलेजमा ‘मैथिली भोजपुरी भाषा तथा साहित्य संगोष्ठी २०८१’आयोजना गर्दै मैथिली भोजपुरी भाषालाई कामकाजको भाषाको रुपमा विकास गर्ने संभावनाहरुको खोजी गर्ने भएका हुन ।
संगोष्ठीले मैथिली एवं भोजपुरी भाषाका विविध पक्ष (इतिहास, महत्व र हालको प्रयोगावस्था) र भाषाको संरक्षण र प्रयोग विस्तारका लागि आवश्यक उपाय पहिल्याउने उदेश्य राखेको छ । संगोष्ठीमा भाषा अध्येता तथा जिज्ञासु, शिक्षक र विद्यार्थीहरुका लागि भोजपुरी र मैथिली भाषाका बारेमा अनुसन्धान तथा खोजकालगि अन्तर्दृष्टिको आदानप्रदान र रचनात्मक विमर्श गर्दै प्रादेशिक तथा स्थानीय सरकारको कामकाजको भाषाका रुपमा यसको प्रचलनका सम्भावना बारे पनि छलफल गरिने आयोजक समितिले जनाएको छ ।

मैथिली एवं भोजपुर भाषा नेपालमा २८ लाख जनसंख्याले बोल्ने गरेको आंकलन गरिएको छ भने भारतमा ३ करोड ४७ लाख जनसख्याले बोल्ने गरेको बताइछ ।
यो भाषा बोल्ने मानिसहरु नेपालको तराई क्षेत्र धनुषा, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, सुनसरी र मोरङ जिल्लाहरुका कायष्ठ, राजपुत, ब्राम्हण, खत्वे, चमार, यादव सहितका समुदायले यो भाषा बोल्ने गर्दछन् ।













