भक्तपुरमा आयुर्वेदिक उपचार प्रभावकारी बन्दै

भक्तपुरमा आयुर्वेदिक उपचार प्रभावकारी बन्दै
भक्तपुर, माघ १२ गते

सरकारी कार्यालयहरुले ६।६ महिनामा आफ्नो गतिविधिहरु पत्रकारहरु बीच सार्वजनिक गर्नु सूचनाको हक जनतामा प्रत्याभूत गर्ने कार्य भएको भन्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र भक्तपुरलाई १६ शैय्याको अस्पतालको रुपमा विकास गर्न पहल गर्ने जनाएको छ । केन्द्रले आफ्नो छ महिनाको कार्यसम्पादन बारे बिस्तृत जानकारी दिन आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्ने प्र.जि.अ. श्रेष्ठले हालै काठमाण्डौमा नक्कली चिकित्सकहरुले पनि बर्षौसम्म नक्कली कागजात बनाएर सेवा दिइरहेको खुलासा भएको सन्दर्भमा देशभर स्थानीय बजारको नियमन गर्ने अधिकार स्थानीय तहहरुमा रहेको भन्दै स्थानीय तहहरुले मापदण्ड बनाएर नियमन प्रभावकारी बनाएर जनताको स्वास्थ्य सेवा सुधार्न सकिने धारणा राख्नु भयो । उहाँले जिल्ला आयुर्वेद स्वासथ्य केन्द्रले दिदै आएको सेवा प्रभावकारी रहेको कुरा भक्तपुरका सरकारी कार्यालयका कर्मचारीहरुलाई दिएको तनाव व्यवस्थापन तालिम र पर्सामा पुगेर अग्नीकर्म सिप सिकेर भक्तपुरका जनतालाई दिइ आएको सेवाबाट प्रष्ट भएको भन्दै आयुर्वेदबाट कसरी नसर्ने रोगहरुको पनि उपचार प्रभावकारी हुने रहेछ भन्ने जिज्ञासा पनि राखेका थिए ।


केन्द्रका कार्यालय प्रमुख नरेन्द्र प्रसाद गिरीले केन्द्रको छ महिनाको गतिविधिहरु बारे जानकारी दिदै मानिसहरु जति मोटाउँदै जान्छ, त्यति नै रोगि पनि हुँदै जाने भएकाले आयुर्वेद प्रणलीद्वारा उपचार र औषधी समेत नि:शुल्क वितरणको व्यवस्था भएको जनाए । उहाँले केन्द्रबाट रोगहरुको परीक्षण सहित २६ प्रकारका औषधीहरु नि:शुल्क वितरण भइरहेकोले उपचारका लागि आउने विरामीको संख्या दिनप्रतिदिन बढ्दै आएको जनाएको छ । गत वर्ष एक वर्षमा १९ हजारको स्वास्थ्य उपचार गरेकोमा यस वर्ष ६ महिना मै १२ हजार भन्दा बढीको उपचार गरी सकेको उल्लेख गर्दै स:शुल्क फार्मेसी सेवा पनि सुरु गरेको जनाए । अधिकांस सेवा नि:शुल्क भएकाले स्वास्थ्य विमा सेवा सुरु नभएपनि स:शुल्क सेवाकालागि पनि स्वास्थ्य विमा कार्यान्वयन गर्ने तयारी भइरहेको पनि उहाँले बताए । स्थानीय देखि विदेशी नागरिकहरुलाई समेत केन्द्रले सेवा दिइ आएको चर्चा गर्दै गत ६ महिनाभित्र मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्यहार कार्यक्रम, प्रर्दुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, स्वस्थ्य जीवन प्रवर्धन, महिला स्वास्थ्य स्वयंसेविकालाई आर्युर्वेद सम्बन्धि सचेतना, जिल्ला स्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन सहित स्थलगत अनुशिक्षणका कार्यक्रमहरु सम्पन्न गरी अवको छ महिनामा विद्यालय आयुर्वेद तथा योग शिक्षा, आयुर्वेद सेवा प्रवर्धनकालागि स्थानीय पत्रकारहसँग अन्तक्र्रिया, अर्धबार्षिक समीक्षा, भान्साघर औषधालय, पूर्णस्तनपान प्रवर्धनकालागि स्वास्थ्यकर्मी तथा आमा समूहलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण, होटल रिर्सोट तथा होमस्टेका संचालकहरुलाई आयुर्वेद तथा योग सम्बन्धि अभिमुखिकरण र कर्मचारी पुनर्ताजगी योग अभ्यास कार्यक्रम हुने जनाए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजु प्रसाद अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रम केन्द्रका उत्तम ठकुरीले सञ्चालन गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौला, जिल्ला हुलाक कार्यालयका कार्यालय प्रमुख सिता साब्बा सहित विभिन्न सञ्चार माध्यमहरुका पत्रकारहरुको सहभागिता थियो । पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले जनता चाप बढेको क्षेत्रमा सरकारले हेर्नुपर्नेमा बेवास्ता गरेको प्रति आपति जनाए । सो कार्यक्रममा केन्द्रको सेवा गुणस्तरीय र मितव्ययी भए पनि थप सुधार गर्नुपर्ने विषयहरुमा सुझाव दिएका थिए ।