चानपामा विपद्मा सञ्चारकर्मीको भूमिकाको खोजी
भक्तपुर, माघ ६ गते
२६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन समितिले विपद् जोखिम न्यूनिकरणमा सञ्चारकर्मीको भूमिका विषयक एक दिने कार्यशाला गोष्ठि आयोजना गरेको छ । जुनसुकै विपद् आइ लागेपनि त्यसबाट समुदायको धनजनको क्षति कम गर्न तथा उद्धार र राहत तथा पुनस्थापनाकालागि नगरपालिकाले खेल्दै आएको भूमिकाहरुको चर्चा गर्दै यसमा सञ्चारकर्मीको भूमिका के कस्तो प्रभावकारी हुन सक्छ ?भन्ने सवालहरुमा छलफल गर्दै कार्यशाला गोष्ठी आयोजना गरेको थियो । चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्ठीले सो अवसरमा चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापनमा उत्कृष्ठ नगरपालिका रहेको कुरा पछिल्लो नतिजाबाट प्रष्ट हुने भन्दै उहाँले विपद् व्यवस्थापनमा राष्ट्रिय मूल्यांकनमा चानपाले ७६ दशमलव५ अंक प्राप्त गरेको जानकारी दिनु भयो ।

साथै उहाँले विपद् व्यवस्थापनका सवालहरुलाई विकास निर्माणसँगसँगै जोड्नुपर्नेमा जोड दिदै चाँगुनारायण नगरपालिकाले गैरकानुनी रुपमा भवन संहिता विपरित प्लटिंग तथा भवन निर्माण कार्य स्वीकृति नदिएको बताउँदै उहाँले आगलागि जस्तो विपद् व्यवस्थापनमा जिल्लाका सबै ट्यांकरहरु ल्याउन सकिने जिल्लास्तरीय सम्झौता र समझदारी कायम गरेकोे बताउनु भयो । चानपा २ का वडाध्यक्ष सोम प्रधान र नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुन्दर सिल्पकारको आतिथ्यतामा भएको सो कार्यशालामा कार्यक्रमका संयोजक तथा विपद् विज्ञ दिनेश थापाले चाँगुनारायण नगरका वडा नं. ४, ५, ६, ७, ८ वडा वढी विपद्ीय जोखिमयुक्त क्षेत्रहरुको तथ्यहरु प्रस्तुत गर्दै नगरस्तरीय आकस्मिक कार्य सञ्चालन केन्द्र स्थापना भएकोे बताउनु भयो । चाँगु नगरमा आगलागि र सडक दुर्घटना बढी घट्ने गरेको चर्चा गर्दै उहाँले स्वयमसेवकहरुकालागि नगरपालिकाले तालिमको व्यवस्था गरेको, विभिन्न २८ वट विपद् व्यवथापन योजनाहरु अगाडी सारेको, खोज तथा उद्धारका २६ प्रकारका सामग्रीहरु वडास्तरमै भण्डार गर्ने तयारी थालेको तथा नगरका ९ वटै वडाका सहकारीहरुसँग सहकार्य गरी विपद् व्यवस्थापन तालिम दिने तयारी भएको पनि बताए । उहाँले स्थानीय विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणका गतिविधिहरुको जानकारी दिदै राष्ट्रिय रणनीतिक कार्ययोजना अनुसार नगरपालिकाले आफ्नो छुट्टै राहात वितरण कार्यविधि निर्माण गर्नुपर्ने अवस्था आएको पनि उल्लेख गरेका थिए ।

विपद् पूर्व, विपद्को बेला र विपद्पछिको अवस्थाहरुमा सञ्चारकर्मीहरुको भूमिकाहरुको समीक्षा तथा जिम्मेवारीता बोद्ध गराउँदै पत्रकार पुस्कर बुढाथोकी र पेसल आयार्चले पनि प्रस्तुतीकरण गरिएको सो कार्यशालामा नेपाल रेडक्रस सोसाईटीका प्राथमिक उपचार कार्यक्रमका संयोजक शिवराम गौतमले स्थानीय तहहरुमा जनप्रतिनिधीहरु आएपछि विपद् व्यवस्थापन, पूर्वतयारी, उद्धार र राहात वितरण तथा पुर्नस्थापनाका गतिविधिहरु व्यवस्थित भएको उदाहरण कोभिड १९ भएको बताए ।
विभिन्न सञ्चार गृहका २२ जना पत्रकार र अन्य दश जनाको सहभागिता आयोजित सो कार्यशालामा सहभागिहरु बीच विपद्मा सञ्चारकर्मीहरुको भूमिका विषयमा समूहगत छलफल तथा प्रस्तुतीकरण कार्यक्रम आयोजना गरेको थियो ।












