भक्तपुरका विद्यार्थी भक्तपुरमै किन पढ्दैनन? हिसान र प्याब्सनको प्रश्न

भक्तपुरका विद्यार्थी भक्तपुरमै किन पढ्दैनन? हिसान र प्याब्सनको प्रश्न
भक्तपुर, असार २३ गते
भक्तपुरलाई शैक्षिक गणन्तव्य स्थल बनाउन भक्तपुरका विद्यार्थीहरु भक्तपुरमै पढाउने अभियान थालेको छ । नेशनल प्याब्सन, जिल्ला कार्य समिति भक्तपुर र हिसान जिल्ला कार्य समिति भक्तपुरले आज एक सामाजिक सम्झौता पत्रमा हस्ताक्षर गर्दै यो अभियान थालेको आयोजकहरुले जनाएको छ । हिसान भक्तपुरका अध्यक्ष अनिल कसपाल र प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आज भक्तपुरमा गरेको सामाजिक सम्झौता पत्रमा हिसानमा आवद्ध विद्यालयहरु र कलेजहरुको कक्षा ११मा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्ने, प्याब्सन सदस्य विद्यालयको प्रिन्सिपलको सिफारीस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई हिसान सदस्य विद्यालय र कलेजहरुले आवश्यक थप छुट सहुलियत उपलब्ध गराउने, दुई संस्थाले अध्ययनरत विद्यार्थीहरुको व्यक्तित्व विकास, अध्यापनमा संलग्न शिक्षकहरुको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि हुने शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहकार्य गर्ने र भक्तपुरका विद्यार्थीलाई भक्तपुरमै कक्षा ११ र १२ पढ्ने वातावरण निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्त रुपमा कार्यक्रम गर्दै जाने उल्लेख छ ।


सम्झौता पत्रमा हस्ताक्षर गर्दै हिसानका जिल्ला अध्यक्ष कसपालले भक्तपुरका उच्च शिक्षा हासिल गर्न तयारी अवस्थामा रहेका ६ हजार विद्यार्थीहरुले कक्षा ११ मा भर्ना हुनलाई समेत जिल्लामा विद्यालयको अभाव रहेको चर्चा गर्दै हिसानमा अहिले १२ वटा कलेज सहितका विद्यालयहरु सदस्यको रुपमा रहेको बताए । उनले भने भक्तपुरका विद्यार्थीहरु जिल्ला बाहिर पढ्न गइरहेका छन् भने पूर्व तर्फका विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न धेरै संख्यामा भक्तपुर आउने गरेको पनि बताए । विद्यार्थीबाट उठ्ने भर्ना र मासिक शुल्कबाट विद्यालय सञ्चालन, स्नोती गर्नलाई समेत पर्याप्त नभएको गुनासो गरेको कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष खड्काले भने कक्षा १२ सम्म मावि तह मै रहेकाले अव हरेक माध्यमिक विद्यालयहरुले कक्षा ११ र १२ पनि सञ्चालन गरी भक्तपुरका विद्यार्थीहरु भक्तपुरमै पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । प्याब्सनका विक्रम ढुकुछुले भक्तपुरलाई शैक्षिक गणतव्य स्थल बनाउन भक्तपुरका विद्यार्थी भक्तपुरमै पढाउन वार्षिक शुल्कमा ५० प्रतिशत छुटको सम्झौता हुनु सकारात्मक विषय भएको चर्चा गरेका थिए ।


सो विषयमा जानकारी दिन आयोजित पत्रकार अन्तरक्रियामा किन भक्तपुरका विद्यार्थीहरु पढ्नकै लागि बाहिर जान्छन्? के यहाँका विद्यालय र शिक्षकहरु सक्षम नभएकै हुन त? के को कमजोरी थियो त? भन्ने विभिन्न विषयहरुमा जिज्ञासा राख्दै सो विषयमा अध्ययन अनुसन्धानमुलक पत्रकारिताकालागि आग्रह गरेका थिए ।