चाँगुनारायण नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु

चाँगुनारायण नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु
भक्तपुर, जेष्ठ ९ गते
चाँगुनारायण नगर अस्पतालले आजबाट विशेषज्ञ स्वास्थ्य सेवा सुरु गरेको छ । विशेषज्ञ स्वास्थ्य सेवा सुरुको अवसरमा अस्पताल परिसरमा आयोजित विशेष स्वास्थ्य शिविरमा २ सय जना भन्दा बढी विरामीहरुले उपचार गराएको अस्पतालका प्रमुख शैलेन्द्र त्वायनाबासुले जनाएको छ ।

चाँगुनारायण नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

हरेक दिन ४०।५० जनाले उपचार गराउँदै आएको सो नगरस्तरीय अस्पतालमा आज एक्कैदिन २०० भन्दा बढीको स्वास्थ्य परीक्षण र उपचार गर्ने अवसर जुरेको भन्दै उहाँले विशेषज्ञ स्वास्थ्य सेवा विस्तारसँगै चाँगुनारायण नगर अस्पतालमा विरामीको चाप पनि बढ्ने विश्वास व्यक्त गरेका छन् । अस्पतालको उद्देश्य शुलभ रुपमा नगरवासीहरुलाई स्वास्थ्य सेवा दिने रहेकाले दुई वर्ष देखि नै क्रमिक रुपमा सेवा विस्तार गर्दै आएको उहाँले उल्लेख गरेका हुन् ।

मध्यपुर थिमी नगरपालिकाको सहयोगमा चाँगुनारायण नगरपालिका अन्तर्गत सञ्चालित सो अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न सहयोग गर्न पाएकोमा मध्यपुर थिमी कोरियण अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर रोशनले खुसि व्यक्त गरेका छन् । जनस्वास्थ्य क्षेत्रमा छिमेकी नगरपालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने अवसर पाएको भन्दै डाक्टर रोशनले कोरियन अस्पतालका डाक्टर र प्राविधिकहरुको सहयोगमा चाँगु नगर अस्पतालमा पहिलो पटक स्त्री रोग सेवा, वाल रोग सेवा र हाडजोर्णी सेवासँगै रेडियोलोजी सेवा सहितको विशेषज्ञ स्वास्थ्य सेवा विस्तार भएको उहाँले बताए ।


३ जना डाक्टर, ६ जना नर्स सहित ३० जना कर्मचारीहरुले २४ सै घण्टा सेवा दिइरहेकोे सो अस्पतालले विशेषज्ञ डाक्टरहरुबाट विशेष स्वास्थ्य सेवा शुभारम्भकोे अवसरमा विशेष स्वास्थ्य शिविर आयोजना भएको चाँगुनारायण नगर नगरपालिका जनस्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले बताए । आफ्नै घर आँगणमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार भएपछि स्वास्थ्य उपचार गराउन सहज भएको स्थानीयको भनाई छ । नगरस्तरीय अस्पताल भएपनि चाँगु नगर छेत्रका समुदायले बाहेक अन्य नगरवासीले सेवा लिन नसकेकाले अस्पताल आउँ जाउँ गर्न सहज हुने गरी यातायात सेवा विस्तारको तयारीमा रहेको पनि उहाँले बताए ।


सो विशेषज्ञ स्वास्थ्य सेवाको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्री र मध्यपुर नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उपचारमा आएका समुदायलाई सो अवसरमा भिडियो एक्से सेवामा ५० प्रतिशत छुट सहित निःशुल्क औषधी समेत वितरण गरेको थियो ।