देशमै पहिलो पटक अन्तरनगर पुरुष खो खो प्रतियोगिता भक्तपुर नगरमा आयोजाना हुने
भक्तपुर नगरपालिकाले देशमै पहिलो पटक अन्तर नगर पुरुष खोखो प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फाल्गुण ५ गते देखि ९ गतेसम्म भक्तपुरको शहीदस्मृति खेल मैदानमा सो प्रतियोगिता आयोजना गर्नेे भएको हो । शहीद दिवसको अवसरमा हरेक वर्ष अन्तर नगर खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको भन्दै नगर प्रमुख सुनिल प्रजापतिले आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिएका हुन ।

फाल्गुण ५ गते विहान १० बजे दत्तात्रय मन्दिर परिसरबाट खेल र्याली अयोजना गरी सहीद स्मृति खेलमैदानमा उद्घाटन समारोह आयोजना गर्ने भएका हुन । सो प्रतियोगिताका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्नु हुने उहाँले बताउनु भयो । प्रतियोगिताको पछिल्लो तयारी बारे जानकारी दिदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरलाई सधै जीवन्त नगरको रुपमा राख्न खेलकूद देखि साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको बताउनु भयो । यस भन्दा अगाडी ४ वटा अन्तर नगर खेलकूद प्रतियोगिता सम्पन्न गरी यस वर्ष खोखो खेलको अन्तर नगर प्रतियोगिता आयोजना गरेको बताउनु भयो । उहाँले भक्तपुर नगरलाई साँस्कृतिक नगरको रुपमा घोषणा गर्ने काम प्रदेश सरकारको भएको र भक्तपुर नगरपालिकाले सांस्कृतिक क्षेत्रको संरक्षण गरी यसलाई जीवन्त राख्न मौलिक शैलीको घर बनाउन सहयोग गर्दै आएको बताउनु भयो ।
खेलकूद गतिविधिको माध्यमबाट नगरका विद्यार्थीहरुलाई सक्रिय बनाउने उदेश्य अनुसार अन्तर नगर विद्यालय स्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले नगरमा रहेका ९२ विद्यालय मध्ये ७९ विद्यालयका २७ सय भन्दा बढी विद्यार्थीहरुको सहभागितामा प्रतियोगिता सम्पन्न गरेको बताए । मुलुकका ७५३ पालिकाहरुलाई अन्तर नगर खोखो प्रतियोगिताका लागि आमन्त्रण गरेको बताउँदै प्रतियोगिताको अन्तिम तयारी भइरहदा पनि विभिन्न पालिकाहरुबाट प्रतियोगितामा सहभागि हुन आइरहेको जानकारीहरु प्राप्त भएको भन्दै अन्तर नगर खोखो खेलकूद प्रतियोगिता भव्यरुपले समन्न हुने बताउनु भयो । नेपाल खो खो संघका कार्यबाहक अध्यक्ष प्रदिप महर्जन र भक्तपुर जिल्ला खोखो संघका अध्यक्ष एवं भनपा ४का वडाध्यक्ष उपेन्द्र सुवाल र नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण गिरीको आतिथ्यतामा भएको सो पत्रकार सम्मेलनमा भक्तपुर नगरपालिका युवा तथा खेलकूद समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नम्वर १का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सो अवसरमा बाचन गर्नु भएको प्रेस विज्ञप्ती यस प्रकार छ ।
अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे
प्रेस विज्ञप्ति
पत्रकार मित्रहरू,
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आएको छ । विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रुपमा स्वस्थ र तन्दुरुष्ट बनाउन कुनै न कुनै खेलमा सहभागी बनाउनुपर्छ भन्ने मान्यताअनुरुप भक्तपुर नगरपालिकाले भलिबल, फुटबल, टेबलटेनिस, बक्सिङ, कराँते, जिम्नाष्टिकलगायत ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आइरहेको छ ।
विद्यालयहरूमा खेलहरूको विकास गर्ने उद्देश्यअनुसार विगत ३ वर्ष अगाडिदेखि पूर्णकालीन प्रशिक्षकहरू व्यवस्थापन गरी खेलकुद प्रशिक्षण निरन्तरता दिई कराँते खेलका प्रशिक्षार्थीहरूलाई आत्मरक्षा, प्रशिक्षकसम्बन्धी प्रशिक्षण तालिम सञ्चालन गरी विद्यालयका छात्राहरूलाई प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ । २०७९ कार्तिक १ गतेदेखि ६ गतेसम्म नगरभित्रका ४३ वटा विद्यालयका शिक्षकहरूलाई एक हप्तासम्म प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी पाठ्यपुस्तकमा रहेका आधारभूत सीपहरूसम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।
नेपाल मजदुर किसान पार्टीको स्थानीय तहको चुनावमा प्रतिबद्धता व्यक्त गरेको कुराहरूमध्ये अन्तर नगर खेलकुद प्रतियोगिता पनि एक हो ।
भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको पनि यहाँहरूमा अवगतै होला । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न भइसकेको छ । २०७९ फागुन ५ गतेदेखि ९ गतेसम्म सहिद दिवसको अवसरमा अन्तर नगर खो खो प्रतियोगिता गर्ने प्रमुख सुनिल प्रजापतिको घोषणालगत्तै उहाँकै संयोजकत्वमा १३५ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेका छौं । हरेक वर्षको प्रतियोगिताले हामीलाई हौसला र उत्साह प्रदान गरिरहेको छ । हाम्रा हरेक प्रतिबद्धताहरू दृढताका साथ पूरा गर्दैछौं ।
अन्तर नगर खो खो प्रतियोगिताको उद्घाटन सहिद स्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ज्यूबाट हुनेछ ।
यस वर्षको अन्तरविद्यालय खेलकुद प्रतियोगितामा ७९ विद्यालयहरूले सहभागिता जनाएको मध्ये ४१ विद्यालयहरू खो खो खेल र ५१ विद्यालयहरू कसिमला पाँयमा भाग लिएका थिए । १४ वटा खेलहरूमध्ये कसिमला पायँ र खो खोमा नै बढी खेलाडीहरू उत्साहित देखिएको पाइन्छ भने आगामी वर्ष अझ बढी विद्यालय र विद्यार्थीहरूले भाग लिने हामीले आशा गरेका छौं ।
नेपाल खो खो संघ, भक्तपुर जिल्ला खो खो संघबाट मान्यता प्राप्त खो खो प्रतियोगिता आज सम्म विभिन्न १४ वटा नगरपालिकाहरूबाट लिखित र मौखिक रुपमा भाग लिन नाम दर्ता गराइसकेका छन् । अन्तरनगर खो खो प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नपाले आयोजना गर्दैछ । खो खो खेलको प्रतियोगितामा यस अगाडि नगद पुरस्कारको व्यवस्था कहिल्यै भएको थिएन । भक्तपुर नपाले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गरेको छ । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ ।
अन्त्यमा, फागुन ५ गतेदेखि ९ गतेसम्म हुने खो खो प्रतियोगिता उद्घाटन ¥याली भक्तपुर नपा वडा नं. ९ दत्तात्रय प्रांगणबाट बिहान १० बजे सुरु भई इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य मुख्य बजार परिक्रमा गरी सहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन हुनेछ । यस प्रतियोगिताबारे आ–आफ्नो सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार गरी सहयोग गरिदिनुहुन सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई हार्दिक अनुरोध गर्दछु ।
भक्तपुर नगरपालिका
मिति ः २०७९ फागुन ३ गते, बुधबार












