३५६ वर्ष पूरानो सम्यकदान, भक्तपुरमा हरेक वर्ष……

३५६ वर्ष पूरानो सम्यकदान, भक्तपुरमा हरेक वर्ष………
भक्तपुर, माघ १ गते
नेपाल सम्बत ७८७ देखि सुरु भएको ऐतिहासिक सम्यक दान पर्व आज भक्तपुरमा मनाएको छ । गत दुई वर्ष कोरोनाको कहरका कारण तयारी गर्दा गर्दै स्थगित गर्नुपरेको यस वर्ष भने धुमधामले मनाएको हो ।

भक्तपुर नगरभित्र रहेका ५ बुद्धहरुलाई दुधपाटीस्थित थथुबहीमा भेला गरी श्रद्धालु भक्तजनहरुले अन्न, फलपूल, मिठाई वा पैसा एवं सामग्रीहरु दान गर्ने परम्परा नै सम्यकदानको रुपमा रहेको छ । काठमाण्डौ र पाटनका समुदायले ५ वा १० वर्षको अन्तरालमा गरिने यो पर्व भने भक्तपुरका समुदायले ३५६ वर्ष देखि मनाउँदै हरेक वर्ष यसै गरी मनाउँदै आएको छ । शाक्य बज्राचार्य सहित बौद्धमार्गी समुदायले विशेष पर्वको रुपमा हरेक वर्ष माघे संक्रान्तिको दिनमा यो पर्व मनाउँने गरिएको हो । दान नै धर्म हो भन्ने सन्देशका साथ बौद्धमार्गी समुदायले आफूले सक्दो दान दिने पर्वको रुपमा यस पर्वलाई लिने गरिएको धर्मालम्बी शंखरत्न बज्राचार्यले बताए ।


सम्यकदान गुठीका आयोजक अमर रतन बज्राचार्यले सम्यकदान पर्व जयजिता मित्र मल्ल राजाको पाला देखि मनाउँदै आएको भन्दै सम्यकदानमा ३२ प्रकारका परिकारहरु दान दिने चलन रहे पनि भक्तजनहरुले आफूलाई मन परेको कुरा दान गरिने बताउनु भयो ।
८० वर्षकी बागेश्वरी नकर्मीले सम्यकदानमा सहभागि हुन पाउँदा निकै खुसि भएको बताएकीछिन् । ८० वर्षको उम्मेरमा पहिलो पटक सम्यकदान गर्ने अवसर जुरेको भन्दै उहाँले पाटनमा ५ वर्षमा एक पटक मात्र हुने तर भक्तपुरमा रहेक वर्ष हुने कुरा सुन्दा धेरै खुसि लागेको बताउँदै उहाँले आफू हिड्न नसकिए पनि छोरा, ज्वाईको सहयोगमा सहभागि भएको बताए । गत दुई वर्ष कोरोनाका कारण मनाउन नपाएकोले यस वर्ष धुमधामले मनाउने अवसर मिलेको भन्दै पशुबुद्ध बुढाचार्यले बौद्ध धर्ममा जति दान दिन सकियो त्यति नै पुण्य प्राप्त हुने विश्वास भएकाले सम्पदान पर्वलाई महादानको रुपमा आफूले सक्ने दान दिन आएको बताए ।
यस वर्षको सम्यकदान पर्वको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र स्थानीय जनप्रतिनिधी श्याम खत्री सहतिको टोलीले अवलोकन गर्नु भएको छ ।