निर्वाचन व्यवस्थित बनाउन भक्तपुरमा सर्वदीलय बैठक
भक्तपुर, बैशाख १५ गते
सुरेशप्रसाद सायंजू, रेडियो जनसञ्चार
आसन्न स्थानीय तहको निर्वाचनलाई ब्यवस्थित बनाउन भक्तपुरमा सर्वदलीय बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाको समन्वयमा बुधबार भएको सो बैठकमा निर्वाचन आचारसहिता पूर्णरुपमा कार्यान्वयन र मतदाता शिक्षाका विषयमा समेत छलफल गरेका थिए । सो अवसरमा भक्तपुरका चारवटै नगरपालिकास्तरीय निर्वाचन कार्यालयका गतिविधिहरुको जानकारी पनि दिएको थियो भने सो बैठकमा नेमकिपा, नेकपा एमाले, माओवादी, कांग्रेस, राप्रपा र स्वतन्त्र उम्मेदबारका प्रतिनिधीहरुले निर्वाचनको तयारीका कमिकमजोरी र आचारसंहिता विपरितका दलगत र उम्मेदबारहरुको गतिविधिहरु बारे समीक्षा गरेका थिए । बैठकमा प्रजिअ शर्माले आसन्न निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित बनाउन सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अनुरोध गर्नु भयो भने मुख्य निर्वाचन अधिकृत बास्तोलाले अन्तिम क्षेणमा मात्रै हुल हुने गरी दल र उम्मेदबारहरु नाम दर्ता गर्न आउँदा ब्यवस्थित गर्न समय लागेको उल्लेख गर्दै निर्वाचन ब्यवस्थित बनाउन दल र उम्मेदवारहरुले पनि आफ्नो दायित्वबोध गर्नुपर्नेमा जोड दिनु भयो ।












