तालाक्वमा नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा धन्यवादज्ञापन कार्यक्रम

तालाक्वमा नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा धन्यवादज्ञापन कार्यक्रम
२०७८ चैत्र २४ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले आफ्नो घोषणापत्रअनुसार नगर र नगरबासीहरुको हितलाई केन्द्रमा राखी काम गर्दै आइरहेको बताउनुहुँदै भक्तपुर नपाले घोषणापत्रलाई अक्षरशः पालना गरेको बताउनुभयो ।
बिहीबार भक्तपुर नपा वडा नं. ४ को आयोजनामा तालाक्वमा भएको नव वर्ष २०७९ तथा बिस्का जात्राको शुभकामना आदानप्रदान तथा धन्यवादज्ञापन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले नजिकिँदै गरेको बिस्का जात्रा भव्य, सभ्य र सुरक्षित ढंगले सम्पन्न गर्न सरोकारवाला सबले भूमिका खेल्नुपर्ने बताउनुभयो ।


हामीले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाईलगायत नगर र नगरबासीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका बिषयहरु र थुप्रै विकास निर्माणका कामहरु सम्पन्न गरिसकेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘जनताको साथ र सहयोग पाएकै कारण हामीलाई काम गर्न सहज महसुस गरेका छौं  र जनप्रतिनिधि र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर आजको अवस्थामा पुग्न सम्भव भएको हो ।’
भक्तपुर नपाले हालै वडा नं. ७ को उपचार पोखरी पुनःनिर्माणको कार्य शुभारम्भ गरिसकेको बताउनुहुँदै उहाँले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता हामीले पूरा गर्दै आएका छौं भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले वडाको विकास निर्माण कार्यहरुबारे अवगत गराउनुहुँदै नजिकिँदै गरेको बिस्का जात्रा भव्य र सभ्य रुपमा सम्पन्न सम्पूर्ण नगरबासीहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले वडाको काममा सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन गर्नुहुँदै बिस्का जात्राको समयमा गःहिटीमा पुनःनिर्माण भइरहेको लक्ष्मीनरसिंह मन्दिरको संरक्षण र सुरक्षाको निम्ति स्वयम्सेवक समिति गठन गरी परिचालन गर्ने तयारीमा जुटेको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बिस्का जात्राले नेपालको प्रतिष्ठा प्रवद्र्धन गर्ने भएकोले यसलाई थप सुरक्षित र व्यवस्थित गर्नुपर्ने बताउनुहुँदै बिस्काको समयमा सम्पदा क्षेत्रमा क्षति नहोस् भन्ने हेतुले छुट्टै टोली परिचालन गर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नपाका कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल, वडा सदस्य राजेन्द्र माक, नेमकिपा वडा नं. ४ एकाइ समितिका अध्यक्ष हरिसुन्दर सुवाल, भनपा ४ का न्हुछेराम भेलेले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।