भक्तपुर जिल्ला बचत संघको १४ औ बार्षिक साधारण सभा सम्पन्न
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको सत्रौं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशन भक्तपुर बैंक्वेट, भक्तपुरमा कार्तिक २४ गते सम्पन्न भयो । सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सभाको उद्घाट्न गर्दै सहकारी धेरै भए तर सहकारीको आफ्नो उत्पादन नभएकोले देशको परनिर्भता हटाउन सहकारीले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले ओरेन्टल सहकारीका संचाालकहरुलाई सरकारले कारबाही गर्न नसक्दा अहिले सिभिल र लालीगुरास जस्ता सहकारी संस्थाले जनताको रकम हिनामिना गरे । सरकारकै संरक्षणमा भइरहेको यस्ता विकृति बिरुद्ध सहकारी संस्थाले अभियान चलाउनुपर्छ भन्नु भयो ।

अतिथि राष्ट्रिय सहकारी महासंघका संचालक डिबी बस्नेतले संघ, प्रदेश, स्थानिय तहको सहकारी ऐन नियमावलीको अन्यौलको कारण सहकरी संघ संचालनमा समस्या आइरहेको बताउनुभयो । उहाँले सहकारीको छाता संघमा आबद्ध नभईकन सरकारकै संरक्षणमा सिभिल सहकारी चलाएको विचार व्यक्त गर्नुभयो ।
अतिथि नेपाल बचत तथा ऋण सहकारी संघका दिपक पनेरुले भक्तपुर जिल्ला बचत संघले सहकारी अभियानमा नीतिगत लविङ्ग, बहस पैरवी, शिक्षा तथा तालिममा अग्रणी भुमिका खेलेको विचार व्यक्त गर्नुभयो । नेपाल बचत तथा ऋण सहकारी संघका पुर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्गले सहकारीलाई राजनीतिकरण गर्दा सहकारी अभियान अगाडि बढ्न नसकेको विचार व्यक्त गर्नु भयो, बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले सहकारी अभियानलाई शुद्धिकरण गरी गुणात्मक सहकारी विकासमा वागमती सरकारसंग पहल कदमी भईरहेको बताउनुभयो । जिल्ला सहकारी संघका भक्तपुरका अध्यक्ष केदार खड्का, संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले गैर समुदायिक सहकारी संस्थालाई निरुत्साहित गरी समुदायमा आधारित सहकारी संस्था विकासका लागि संघ स्थापना भएको स्मरण गर्दै हाल बहुउद्देश्यीय सहकारी संस्थाहरुको अस्वभाविक दर्ताले सहकारीमा विकृती विसंगती बढ्नेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।
सभाको सभापतित्व गर्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सन्दर्भ व्याजदर र सेवा शुल्क तोक्ने सहकारी विभागको कार्यले सदस्यले सदस्यलाई शोषण हुनबाट सचेत बनाएको कुरा बताउनुभयो । वहाँले एक व्यक्ति एक सहकारीको व्यवस्था व्यवहारिक नभएकोले संशोधन हुनुपर्ने विचार राख्दै सहकारीको आयकर ५ प्रतिशत हुदाँ सहकारी संघ संस्थामा अग्रिम व्याज करकट्टी १५ प्रतिशत नै कायम रहनु न्याचित नभएको कुरा बताउनुभयो । संघका उपाध्यक्ष हरी बल्लले स्वागत मन्तव्य दिदैं नेफ्स्कून र सहकारी बैंकको अस्वस्थ प्रतिस्पर्धाले सहकारी सहकारी बीच नै प्रतिस्पर्धा चलेको विचार राख्नुभयो ।
सभाको मुख्य सत्रमा संघका सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०७७।७८ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांष प्रस्ताव र संरक्षित पुजी फिर्ता दिने प्रस्ताव पेश गर्नुभयो । संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७७।७८ को वित्तीय प्रगति प्रतिवेदन पेश गर्नु भयो । सभाबाट आ.व.२०७७।७८ मा १ अर्व ६७ करोड ६२ लाख ४३ हजारको वासलात र २ करोड २१ लाख ९९ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरियो । साथै आगामी आ.व.२०७८।७९ मा संघको वासलात १ अर्व ९२ करोड ७३ लाख २९ हजारको बजेट पारित गरेको छ । साथै संघले ८० लाख ६० हजारमा भवन निमार्ण सम्पन्न गरी आफ्नै भवनबाट कारोबार संचालन भएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आ.व.२०७७।७८ को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो ।
उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. र उपकार बचत तथा ऋण सहकारी संस्था लि. र ऋणमा संचित बचत तथा ऋण सहकारी संस्था लि., सागबारी बचत तथा ऋण सहकारी संघ लि. र तौडोलछाप बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन तीन वटा संस्थालाई प्रशंसा पत्र वितरण समेत गरियो । सभामा २०० वटा सदस्य संस्थाहरु मध्ये १६७ जनाको उपस्थिति भएको थियो । सभाको संचालन संघका संचालक कृष्णश्वरी प्रजापतिले गर्नु भयो ।
सभामा सम्पन्न निर्वाचनबाट कृष्ण गोविन्द लाखाजुको अध्यक्षतामा चार वर्षको लागि सञ्चालक समिति निर्वाचित ग¥यो । नवनिर्वाचित उपाध्यक्षमा हरी बल्ल, सचिव जगन्नाथ प्रजापति, कोषाध्यक्ष कान्छा भक्त घजु, सञ्चालक सदस्य पञ्च कृष्ण श्रेष्ठ, काजी बहादुर पञ्च, इन्द्रप्रसाद ब्यान्जु, लेखा सुपरिवेक्षण समितिको संयोजकमा बाल मुकुन्द उपाध्याय, सदस्यमा श्री प्रसाद त्यात र सुशिल पराजुली (बराल) निर्विरोध निर्वाचित हुनुभयो । संचालक समिति सदस्यमा महिलातर्फ कृष्णश्वरी प्रजापति र सन्तोषी खतिवडा अत्याधिक मतले विजयी हुनुभयो ।












