राष्ट्रिय आर्थिक गणना २०८२ बारे भक्तपुरमा अन्तरक्रिया

राष्ट्रिय आर्थिक गणना २०८२ बारे भक्तपुरमा अन्तरक्रिया
भक्तपुर, चैत्र १७ गते
राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी आज भक्तपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । ‘अर्थतन्त्र मापनकालागि आर्थिक गणना’ नासाका साथ आगामी बैशाख २ गते देखि असार ७ गतेसम्म आयोजना हुने सो गणनाका विषयहरु बारे प्रकाश पार्दै आज सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यतामा आज भएको अन्तरक्रियामा आर्थिक गणनाका विषयवस्तुहरु बारे जिल्ला आर्थिक गणना कार्यालय भक्तपुरका प्रमुख यदु आर्चायले प्रस्तुतीकरण गर्नु भएको थियो । आर्थिक गणनाका लागि भक्तपुरमा आवश्यक ९० जना गणकहरुलाई तयारी अवस्थामा राखेको उल्लेख गर्दै उहाँले आर्थिक गणनाले राष्ट्रिय नीति, बजेट व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्दै घरमा कति जना परिवारका सदस्य छन्, खाना पकाउन के कति खाद्यवस्तु जोह गर्नुपर्छ भन्ने झै देशको आर्थिक व्यवस्थापनकालागि आर्थिक गणनाको महत्व रहेको चर्चा गरेका थिए । आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानहरुको आधारभूत विवरण संकलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने उदेश्यकालागि देशभर यो अभियान सञ्चालन हुने उहाँले बताउनु भयो ।

जिल्ला आर्थिक गणना कार्यालय भक्तपुरका भिम साखले आर्थिक गणनाको महत्व वारे प्रकास पारेको सो अन्तरक्रियामा सहभागिहरुले करको दायरामा आएका व्यवसायीहरुको आर्थिक गतिविधि बारे कर कार्यालयबाटै प्रष्ट विवरण बुझ्न सकिने भएकोले घरदैलो आर्थिक गणना आवश्यक नभएको टिप्पणी गरेका थिए भने आयोजकहरुले सो गणनाले घरदैलोमा वा अनौपचारिक आर्थिक कारोबारमा रहेका व्यवसायीहरुलाई पनि करको दायरामा ल्याउन मदत पुग्ने भन्दै आफ्नो आर्थिक गतिविधिलाई खुल्लेर विवरण दिन आग्रह गरेका थिए । औपचारिक तथा अनौपचारिक रुपमा कारोवार गर्दै आएका जोसुकैको पनि आर्थिक गणनामा समाबेस गर्ने भएकाले नागरिक स्तरबाट आर्थिक गणनालाईमा सहभागि अभिवृद्धि गर्न जोड दिएको थियो ।
आर्थिक गणनाले देशको आर्थिक स्थिति, ग्राहष्ठ उत्पादनका तथ्याङ्गहरु संकलित भई राष्ट्रिय आर्थिक नीति समेत बन्ने भएकाले हरेक क्षेत्रका आर्थिक कारोबारलाई संकलन गर्न सबै प्रतिष्ठान, व्यवसायका आर्थिक एकाईहरुको एवं निजि तथा सामुदायिक संघ संस्था, सञ्चार माध्यम, विद्यालय, एनजिओहरुको समेत आर्थिक गणना हुने जनाएका थिए । तर सहभागिहरुले यस्तो आर्थिक गणनाले प्रत्यक्षरुपमा जनतालाई अनुभूति हुने जनतासँग लिने मात्रै होइन दिने विषयहरु पनि प्रष्ट पार्न सके जनताहरु आर्थिक गणनामा सक्रिय सहभागि हुने अपेक्षा गरेका थिए । सो अवसरमा कार्यालय प्मुख आर्चायले आर्थिक गणनाका विवरणहरु पूर्णरुपमा गोप्य रहने र गणकहरु पनि स्थानीय नै रहेने भन्दै धुक्क भएर विवरण दिन आग्रह गरेका छन् ।
प्रत्येक ५।५ वर्षमा आयोजना हुने आर्थिक गणना यस वर्ष हुँदै छ । यो भन्दा अघि २०७५ सालमा यसै गरी आर्थिक गणना गरेको थियो ।