भक्तपुरको उद्योग विकासकालागि घरेलु उद्योग प्रर्वधन गर्न जोड

भक्तपुरको उद्योग विकासकालागि घरेलु उद्योग प्रर्वधन गर्न जोड

भक्तपुर, जेष्ठ ३ गते
स्थानीय मौलिक उत्पादनको व्यापार प्रर्वधन तथा अभिवृद्धि गर्न उद्योग तथा वाणिज्य कार्यालयको नाममा घरेलु तथा साना र मझ्यौलाको नाम पनि उल्लेख गर्नु पर्नेमा जोड दिदै भक्तपुरका उद्यमीहरुले जिल्लाको उद्योग व्यवसाय प्रवद्धर्नकालागि विभिन्न सुझावहरु प्रस्तुत गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयलाई बागमती प्रदेश सरकारले उद्योग तथा वाणिज्य कार्यालयको रुपमा नाम परिवर्तन गरेकोे प्रति आपति जनाउँदै उद्यमीहरुले स्थानीय उत्पादन, बजारिकरण र मौलिकता वचाई राख्न घरेलु उद्योगलाई स्थायित्व र नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक भएकोमा जोड दिएका हुन ।

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरले आज भक्तपुरमा सरोकारवालाहरुसँग आज भक्तपुरमा अन्तरक्रिया तथा सुझाब संकलन गोष्ठी आयोजना गर्दा जिल्लाको उद्योग विकासकालागि घरेलु उद्योगको योगदान महत्वपूर्ण भएकाले घरेलु उद्योगलाई प्रर्वधन गर्न जोड दिएक हुन ।
बागमती प्रदेशका उद्योग मन्त्रीको निर्देशनमा स्वास्थ्य मन्त्री किरण थापा मगरले उद्घाटन गर्नु भएको सो गोष्ठीमा भक्तपुर घरेलु तथा साना उद्योग संघले सदस्य उद्यमीहरुको तर्फबाट १४ वटा सुझावहरु प्रस्तुत गर्दै जिल्लाका स्थानीय तहहरुलाई पनि घरेलु उद्योगको रुपमा विकास गर्न पकेट क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिएका थिए । संघका अध्यक्ष श्याम श्रेष्ठका अनुसार भक्तपुर नगरलाई काष्ठकला, मध्यपुरलाई सेरामिक्स हब, चाँगुलाई आलु सहित कृषि उत्पादन क्षेत्रको रुपमा विकास गर्न सरकारले विभिन्न योजनाहरु कार्यान्वय गर्न १४ वटा सुझावहरु प्रस्तुत गरेको बताए ।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले आ.व. २०८१।८२का वार्षिक नीति तथा कार्यक्रमहरुबारे जानकारी दिएको सो गोष्ठिमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैया द्यौबन्जा सहित विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री थापाले नसर्ने रोग सहित विभिन्न जनस्वास्थ्य समस्याहरु बढी रहेकाले स्वास्थ्य मैत्री उद्योग सञ्चालन तथा प्रवर्धनकालागि व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
५ लाख भन्दा माथि कारोवार गर्ने भक्तपुरका १३ हजार भन्दा बढी उद्योगहरु उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरमा दर्ता भएपनि ८ हजार जति मात्रै अद्यावधिक भइरहेको कार्यालय प्रमुख कुस्माले जनसञ्चार खवरलाई जनाएको छ । सो कार्यालयले वाणिज्य कार्यालयको पनि कार्यभार सम्हालेपछि घरेलु तथा साना उद्योग कार्यालयलाई उद्योग तथा वाणिज्य कार्यालयको नामबाट जिल्लाको उद्योग व्यवसाय प्रवर्धनकालागि विभिन्न तालिम, प्रविधि हस्तान्तरण र सचेतनामूलक कार्य गर्दै आएको भन्दै उहाँले आज भक्तपुरका व्यवसायीहरुको धारणा बुझ्न सुझाव संकलन गोष्ठी आयोजना गरेको बताएका छन् ।