नगरपालिकाद्धारा निर्मित ट्राफिक सचेतना कक्षको उद्घाटन, ट्राफिक कार्यालय टेण्ड मुक्त
रमेश गिरी
राष्ट्रिय समाचार समिति (रासस) ः
भक्तपुर, १८ बैशाख ः ट्राफिक प्रहरी परिसर भक्तपुरमा सूर्यविनायक नगरपालिकाले निर्माण गरिदिएको महानगरीय ‘ट्राफिक सचेतना कक्ष’को आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्नु भएको हो । सूर्यविनायक नगरपालिकाको रु. आठ लाखको लागतमा सूर्यविनायक–६ ट्राफिक प्रहरी परिसरमा निर्माण भएको सचेतना कक्षको नयाँ भवनको आज उहाँले उद्घाटन गर्नु भएको हो ।
ट्राफिक समेतना कक्षाका लिनका लागि भक्तपुरदेखि काभ्रेसम्मका चालकलाई काठमाडौसम्म जानु नपर्ने गरि २०८० साल असार ३ गतेदेखि भक्तपुरमै सुरु भएको ट्राफिक समेतना कक्षा २२ महिनासम्म टेण्डमा सञ्चालन हुदै आएको थियो । वर्षामा पानी चुहिने, गर्मीयाममा गर्मी र जाँडो याममा चिसोले समस्या हुदै आएकोमा नगरपालिकाले नयाँ भवन निर्माण गरिदिएपछि अब कक्षा सञ्चालनमा सहज हुने भएको छ ।


कार्यक्रममा नगर प्रमुख थापाले ट्राफिक कार्यालयबाट सचेतना कक्ष निर्माणका लागि बजेट माग भएको दुई महिनामै बजेट व्यबस्थापन गरेर एक कोठे भवन निर्माण गर्न सफल भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ट्राफिक सचेतना कक्षा लिन अब घामपानीको सकस अन्त्य भएको छ । प्रहरी र जनप्रतिनिधि २४ सै घण्टा जनताको सेवामा लाग्नु पर्छ । हामीले ट्राफिक प्रहरीलाई सचेतना कक्ष निर्माण गर्न, नापी कार्यालयलाई नक्सा डिजिटलाइजेन गरि व्यबस्थित गर्न, मालपोल कार्यालयलाई फाइल व्यबस्थापन गर्न, प्रहरी परिसर भक्तपुरलगायत बिभिन्न बिभिन्न सरकारी निकायलाई पनि सहयोग गर्दै आएका छौँ ।”
ट्राफिक सचेतना कक्षाले दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुग्ने बताउदै नगर प्रमुख थापाले ट्राफिक नियम मिच्नेलाई नेतादेखि कर्मचारीसम्मका भनसुनका आधारमा कारबाही र कक्षा नलिई छाड्ने काम गरे दुर्घटना अझै बढ्ने भएकाले भनसुनलाई प्राथमिकता नदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष ईश्वर खड्काले पानी पर्दा टेण्डभित्र कक्षा लिन निकै समस्या भएको र डरलाग्दो अबस्था देखेरनै नगरपालिकाले भवन निर्माणका लागि रकम दिएको बताउनुभयो । जनप्रतिनिधि जनकर्तव्यबाट विमुख नहुने बताउदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले टेण्डमा कारबाहीमा परेका चालकहरुलाई सचेतना कक्षा लिन पानी पर्दा, घाम चर्किदा र जाडोमा निकै समस्या परेको अबस्थामा नगरपालिकका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा र वडा नं. ५ का वडाध्यक्ष खड्काले यहाँको अबस्था देख्ने बित्तिकै भवन निर्माण प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
उहाँले नगर प्रमुखले बजेट विनियोजन गरेपछि कक्षको नयाँ भवन निर्माण पुरा हूँदा टेण्ड मुक्त भएको र अझै प्रभावकारी रुपमा कक्षा सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले दैनिक बिहान ९ बजेदेखि २ बजेसम्म १०० देखि १५० जनासम्मले कक्षा लिने गरेको बताउदै चालू आ.ब.को साउनदेखि चैतसम्म १६ हजार ३१३ जनाले सचेतना कक्षा लिएको बताउनुभयो ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरि सवारी साधन चलाएको, लेन अनुशासन उलंघन गरेको, तीब्र गति र रात्तोबत्ति उलंघन गरि कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टाको सचेतना कक्षामा सहभागी गराउँदै आएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले ट्राफिक प्रहरीको सडकमा हुने सक्रियताले दुर्घटना न्यूनिकरण हुने बताउदै चालकलाई सचेतना र कारबाहीका चरणहरुकाबारेमा जानकारी गराउनु पर्ने बताउनुभयो ।–––