श्वेत भैरवले दियो गुँडपाक र पुष्टकारी बनाउने तालिम
भक्तपुर, फाल्गुण ४ गते
श्वेत भैरव साकोसले एक दिने सुत्केरी गुँडपाक र पुष्टकारी बनाउने तालिम दिएको छ । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि. जेंला – ८, भक्तपुरको महिला उपसमितिले आयोजना गरेको सो तालिममा २६ जनाले सफलतापूर्वक तालिम लिएका हुन । संस्थाको कार्यालय भवन जेंलामा सम्पन्न सो तालिममा सहभागि प्रशिक्षार्थिहरुलाई आजै प्रमाण पत्र वितरण गर्दै भक्तपुर नगरपालिका वडा नं ८का वडाध्यक्ष कृष्णप्रसाद कोजूले संस्थाबाट समयसमयमा विभिन्न सीपमूलक तालिमहरु संचालन गर्दै आएको प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले व्यवसाय गर्न चाहने प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाण पत्र हेरी भक्तपुर न.पा.बाट व्यवसायिक ऋण प्राप्त गर्न सकिने बताउनुभयो । भक्तपुर न.पा.ले विद्यार्थीहरुलाई शैक्षिक ऋण पनि दिंदै आएको कुरा बताउँदै वडाध्यक्ष कोजूले प्रशिक्षार्थीहरुलाई तालिमको लाभ लिई भविष्यमा राम्रो व्यवसायी हुन सकोस भनि शुभकामना दिनुभयो । साथै उहाँले आउँदो मिति २०८१ फागुन १६ गतेदेखि १९ गतेसम्म हुने नेपाल मजदूर किसान पार्टीको ८औं महाधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्णमा सक्रियताका साथ सहभागी हुन अनुरोध गर्नुभयो ।


सो अवसरमा प्रशिक्षक गणेशभक्त भूजूले यो व्यवसाय सानो पूंजीबाट सजिलै सुरु गर्न सकिने र राम्रो आम्दानीको स्रोत हुने बताउनुभयो । कार्यक्रम महिला उपसमितिका संयोजक पञ्च माया दुवालको सभापतित्वमा सम्पन्न भएको थियो । उहाँले यस संस्थाबाट समय सापेक्ष सदस्यहरुको आवश्यकता र माग अनुसार विभिन्न तालिमहरु संचालन भईरहेको जानकारी दिनुभयो । कार्यक्रममा महिला उपसमिति सदस्य कल्पना प्याठले उद्घोषण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले तालिममा सहभागिहरुलाई प्रमाण पत्र र प्रशिक्षकलाई कदर पत्र वितरण गर्नु भएको थियो ।














