‘बीआरआई अवसर र चुनौति’ विषयक अन्तरक्रिया सम्पन्न
काठमाडौँ । ९ असोज २०८१ । चिनिया परियोजना बीआरआई नेपालका लागि ठूलो अवसर भएको र यसलाई सदुपयोग गर्नुपर्ने वक्ताहरुले बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘बीआरआई अवसर र चुनौति’ विषयक अन्तरक्रियामा वक्ताहरुले बीआरआईबाट नेपालले लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालले बीआरआईलाई सदुपयोग गर्नुपर्ने बताए । संसदका दुबै सदनबाट टिआरसी विधेयक पास भइसकेपछि नेपाल अब आर्थिक उन्नती र प्रगतिको बाटोमा लम्किनु पर्ने बताउँदै बीआरआईजस्ता परियोजनालाई लगानीको रुपमा सदुपयोग गर्नुपर्ने उनले बताए ।


नेकपा (एमाले) का उपाध्यक्ष गुरुप्रसाद बरालले नेपालले ठूला परियोजना निर्माण गर्न लगानी नभएको अवस्थामा बीआरआई आवश्यक रहेको बताए । देशको विकास गर्न बीआरआईलाई ऋणकै रुपमा भए पनि स्वीकार गर्दा कुनै घाटा नहुने उनको भनाइ छ । अन्तर्राष्ट्रिय स्तरमा हाम्रो पहुँच र प्रवेश मार्ग निर्माण हुने भएकोले बीआरआई नेपालको समग्र हितमा रहेको उनले उल्लेख गरे ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेपालको २४ खर्ब ऋणमध्ये वल्र्ड बैंकको मात्रै ४९ प्रतिशत रहेको तर चीनको जम्मा ३.२० प्रतिशत रहेको बताए । अत्यन्तै थोरै ऋण भएको चीनबाट बीआरआई परियोजना लिन किन डराउने ? भन्दै उनले प्रश्न गरे । त्यसलाई सकेसम्म अनुदानमा र नसके थोरैभन्दा थोरै ब्याजमा सञ्चालन गर्नुपर्ने उनले बताए ।
अर्का वक्ता नेकपा (माले) का महासचिव सीपी मैनालीले भौतिक विकास गर्न चाहने विश्वका साना मुलुकहरुलाई चीनले सहयोग गर्ने उल्लेख गर्दै हामीले पनि पूर्वाधार विकासमा बीआरआईलाई प्रयोग गर्नुपर्ने बताए । बीआरआईले देश विकासमा सहयोग गर्नै भन्दै उनले खोचे थापेर यसलाई असफल बनाउन नहुने बताए ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले परियोजनाहरु राजनीतिक भागबण्डामा लागू हुने गरेको भन्दै दुःख ब्यक्त गरे । बीआरआई स्वीकार गरेपछि नै दुई–चारवटा प्रतिफल प्राप्त गरिसकेको उल्लेख गर्दै उनले हाम्रो देश भूपरिवेष्ठितबाट माथि उठेर विश्वसँग ब्यापार गर्न सक्ने अवस्थामा पुगिसकेको उल्लेख गरे ।
राजनीतिक विश्लेषक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले बीआरआईले वैकल्पिक पारवहनको सुविधा दिएको उदाहरण दिँदै यो कसैको पराधीन नभई आफ्नै खुट्टामा उभिन र सक्षम नेपाल बनाउन सघाउने परियोजना भएको बताए । बीआरआई ऋणको धराप हो भन्ने भाष्य तयार गरिएको भन्दै उनले ८० प्रतिशत ऋण पश्चिमा र इण्डियाको भएको उल्लेख गरे । उनले भने, ‘अमेरिकाको ऋण लिँदा स्वर्ग पुगिने र चीनको लियो भने नर्क पुगिने हो र ?’ बीआरआई लागू गर्दा भरसक अनुदानमा लिनुपर्ने नत्र भने एडिबीको भन्दा ब्याज नबढ्ने गरी ऋणमा लिनुपर्ने उनले बताए ।
वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य एकराज भण्डारीले बीआरआईको काउन्टरको रुपमा एमसीसी आएको भन्दै सैन्य रणनीति स्वरुप ल्याइएको परियोजना पारित गरेर कार्यान्वयनमा जानु दुर्भाग्यपूर्ण रहेको बताए । एमसीसीभन्दा बीआरआईको कन्सेप्ट नै फरक भएको भन्दै उनले विश्वमा पूर्वाधार विकास नगरी सुखै छैन भन्ने उद्देश्यले यो आएको बताए । ब्यापारिक लगानीको विस्तार, रोजगारी सिर्जना, वित्तीय सहयोगमा भूमिका निर्वाह, क्षेत्रीय सहयोग र आर्थिक साझेदारीमा काम गर्ने गरी यो परियोजना आएको उनले बताए । केही चुनौति वा समस्या छन् भने त्यसलाई सरकारीस्तरबाट बसेर समाधान गर्नुपर्ने उनको भनाइ थियो ।
नयाँ चीन स्थापनाको ७५औं वार्षिकोत्सवका अवसरमा नेपाल–चीन मैत्री युवा संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) सँगको सहकार्यमा यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सिजिटिएनकी नेपाली विभाग प्रमुख सुमेघाले पठाएको भिडियो सन्देश पनि प्रशारण गरिएको थियो । फोरमका अध्यक्ष रमेश कुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता मैत्री युवा संघका अध्यक्ष विष्णु सापकोटाले गरेका थिए । कार्यक्रममा रे टेलिभिजन, रे न्यूज डेली डट कम, क्यापिटल एफ एम र पत्रकला साप्ताहिक मिडिया पार्टनरको रुपमा रहेका थिए ।














