एसईई नतिजा सार्वजनिक, २०७१ सालको स्तरमा मात्रै परीक्षार्थी उत्तीर्ण

एसईई नतिजा सार्वजनिक, २०७१ सालको स्तरमा मात्रै परीक्षार्थी उत्तीर्ण
भक्तपुर, असार १३ गते
राष्ट्रिय परीक्षा बोर्डले आज विहान पत्रकार सम्मेलन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८०को नतिज्ञा प्रकासित गरेको छ । आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रकासित नतिजा अनुसार अनुर्तिण हुनेको संख्या बढी रहे पनि राम्रो ग्रड ल्याउने परीक्षार्थीको संख्या पनि राम्रै रहेको बोर्डका अध्यक्ष प्रा. डा. महाश्रम शर्माले जनाएको छ । नतिजा अनुसार परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना सहभागी भएका मध्ये एक सय ८६ जनाले ४ जीपीए ल्याएका छन् भने परीक्षामा सहभागीमध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका थिए । यो नतिज्ञा २०७१ सालको जस्तै खस्केको भन्दै पत्रकार सम्मेलनमा सहभागि शिक्षा पत्रकार मकर श्रेष्ठले एक लाख १४ हजार ४८ छात्र र एक लाख २८ हजार दुई सय ५७ छात्रासहित कुल दुई लाख ४२ हजार तीन सय १३ परीक्षार्थीको ‘एनजी’ अर्थात् ‘ननग्रडेड’ आएको राम्रो विषय नभएको टिप्पणी गरेका छन् ।

हरेक वर्ष राष्ट्रिय परीक्षा बोर्डले नतिज्ञा प्रकाशनसँगै शैक्षिक सुधारका विषय उठान गर्ने गरे पनि सरोकारवालाहरुको ध्यान अझै नपुगेको प्रकासित नतिजाले देखाएको अर्का शिक्षा पत्रकार विनोध घिमिरेले प्रतिकृया दिएका छन् । परीक्षार्थीहरु अंग्रेजी, गणित र विज्ञान तीन विषयमा बढी अनुतिर्ण हुनुको मुख्य कारण विषयविज्ञ शिक्षकहरुको अभाव भएको उहाँहरुको टिप्पणी थियो । एसईईको परीक्षा फल हेर्न खोताङ देखि सानो थिमि आई पुगेका परीक्षार्थी मनिस भुजेलले सामुदायिक विद्यालयहरुलाई पनि इग्लिस मिडियममै पठनपाठन गर्न सके र छिन छिनमा शिक्षक फेर्न राजनीति नगरेको भए दुरदराजका विद्यालयका विद्यार्थीहरुले पनि राम्रो ग्रेड ल्याउन सकिने धारणा राखेका छन् । बोर्डका अध्यक्ष शर्माले एउटा विषयमा एनजी आउने ६७ हजार सात सय ९३ र दुई विषयमा एनजी आउने ४८ हजार ३८ विद्यार्थी रहेको जानकारी दिनुभयो । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ । यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । सैद्धान्तिक ७५ पूर्णाङ्क विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । एक सय पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने, त्योभन्दा कम अङ्क आएमा ‘एनजी’ ननग्रेडड आउँछ । यस वर्षको एसइईमा सबैभन्दा बढी गणितमा एनजी आएको छ । गणित विषयमा एक लाख ७७ हजार नौ सय ८५ विद्यार्थीको एनजी आएको छ । विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ तथा अङ्ग्रेजीमा एक लाख एक हजार तीन सय ८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिनुभयो । सामाजिकमा ७३ हजार आठ सय ७७, नेपालीमा ६० हजार पाँच सय ३२, अर्थशास्त्रमा ६९ हजार चार सय १६ तथा ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीको एनजी आएको छ । दुई विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पुरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ ।