खुल्ला गुँला बाजा प्रतियोगितामा क्वनेया गुँला बाज प्रथम

खुल्ला गुँला बाजा प्रतियोगितामा क्वनेया गुँला बाज प्रथम
भक्तपुर । २२ वैशाख २०८१, शनिबार
भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगिता शनिबार भक्तपुर नपा वडा नं. १ भार्वाचो (कुथुबही) मा एक भव्य समारोहबीच सम्पन्न भयो । गुँला बाजा प्रतियोगितामा भनपा ३ तेखाचोको क्वनेया गुँला बाजँ सञ्चालन तथा व्यवस्थापन समिति प्रथम भएको छ ।
त्यस्तै बुराँख्यो येँ, नरदेवीको ङत तुलाधर गुँला बाजँ खलः द्वितीय, मध्यपुर थिमीको प्रजापति गुँला बाजा तृतीय, मथिनपा वडा नं. ५ को थिमि गुँला बाजा खलः र इतुंबहाः येँ, वडा नं. २४ को केशचन्द्र गुँला बाजं खलः ले सान्त्वना स्थान हासिल गरेका थिए ।


सोही क्रममा प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताका विजयी समूहलाई पुरस्कार वितरण गर्नुभयो ।
प्रतियोगितामा प्रथम भएको समूहलाई नगद रु. ४० हजार, द्वितीयलाई नगद रु. ३० हजार, तृतीय हुन सफल समूहलाई नगद रु. २५ हजार र सान्त्वना स्थान प्राप्त गरेको २ वटा समूहलाई रु. २० हजार प्रति समूह नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई रु. ५ हजार प्रदान गरिएको थियो भने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गरेको बाजा समूहलाई वाद्यवादन सामाग्री पनि पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजनामा भएको गुँला बाजा प्रतियोगिता एक सांस्कृतिक पर्वको रुपमा सञ्चालन भएको बताउँदै प्रतियोगिता आयोजनाले संस्कृतिकर्मी र कलाकारहरुमा उत्साह थपेको बताउनुभयो ।
भक्तपुर कला र संस्कृति संरक्षण र प्रवद्र्धनमा अग्रणी र जीवन्त सहरको रुपमा विकास हुँदै आइरहेको बताउँदै उहाँले देशको कला संस्कृति नै हाम्रो अमूल्य सम्पत्ति रहेको बताउनुभयो ।
नयाँ पुस्तामा ज्ञान र सीप हस्तान्तरणले देशको मौलिक संस्कृति जगेर्नामा उल्लेखनीय योगदान पुग्ने बताउँदै उहाँले विद्यालयस्तरदेखि यस्ता सीपहरुको प्रशिक्षण दिन सके देशको कला संस्कृति जीवन्त हुने बताउनुभयो ।
समारोहका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवादज्ञापन गर्दै भक्तपुर नपाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा १० वटा महानगरपालिका–नपा र ४ वटा जिल्ला गरी २६ वटा बाजा खलःले सहभागिता जनाएको बताउनुभयो ।
भक्तपुरको अमूर्त र अमूर्त सम्पदाहरु संरक्षण नै यहाँको विशेषता भएको बताउँदै उहाँले मौलिक संस्कृति जगेर्नामा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।
निर्णायकमण्डलका तर्फबाट डा. पुष्परत्न शाक्यले भक्तपुर नपाले बौद्ध धर्म र संस्कृतिसँग जोडिएको गुँला बाजा प्रतियोगिता आयोजना गरी उल्लेखनीय कार्य गरेको बताउँदै प्रतियोगिता आयोजनाले गुला बाजा संरक्षण र सम्बद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभएको थियो भने भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले मूल्यांकण परिणाम घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सहभागीहरुलाई प्रमाणपत्र र मायाको चिनो वितरण गर्नुभएको थियो भने उपप्रमुख जोशीले मूल्यांकनकर्ताहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
गुँला बाजा प्रतियोगितामा २६ वटा बाजा समूहले उत्साहपूर्वक सहभागिता जनाएका थिए जसमा एउटा बाजा समूहले गुँला बाजाको विशेष प्रस्तुती प्रस्तुत गरेका थिए ।