खेलाडीको स्मृतिमा शुक्रबार देखि भक्तपुरमा बुद्धिचाल प्रतियोगिता हुने
भक्तपु जेष्ठ ११ गते
बुद्धिचाल खेलाडी स्वर्गीय त्रिरत्न ग्वाछाको स्मृतिमा भक्तपुरमा खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । जेष्ठ १२ र १३ गते गरी दुई दिन हुने सो प्रतियोगिताको तयारी पूरा भएको आयोजक भक्तपुर युवा टिमले जनाएको छ । भनपा ७ स्थित होटल गोल्मढीको प्रांगणमा शुक्रबार विहान १० वजे उद्घाटन हुने सो प्रतियोगितामा १२० जना जुनियर देखि सिनियरसम्मका खेलाडीहरुले प्रतिस्पार्धा गर्ने भएको आयोजक समितिले जनाएको हो । ७ वर्ष देखि ८२ वर्षसम्मका र विद्यालयका विद्यार्थी, राष्ट्रिय च्याम्पियन खेलाडी देखि अन्तराष्ट्रिय खेलाडीहरुले समेत प्रतियोगतामा सहभागिता जनाउने भएको आयोजक समितिले जनाएको छ । आकर्षक नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र समेतको व्यवस्थामा आयोजना हुने सो प्रतियोगिता रापिड रेटिङ प्रणालीमा खेलाईने छ ।
प्रतियोगिताको उद्घाटन आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले गर्ने छ भने प्रतियोगिता शुक्रबार १२ बजे देखि सुरु हुने जनाएको छ ।
प्रतियोगिताको अन्तिम तयारीकालागि बिहिबार भएको छलफलको क्रममा टिमका सल्लाहकार उकेश कवांले शारीरिक र मानसिक विकासका लागि खेलकूद गतिविधिको आवश्यकतामा जोड दिदै खेलाडीहरुले गरेको योगदान नयाँ पुस्ता र परिवारलाई पनि प्रशिक्षित गर्न सके मात्रै खेल गतिविधिलाई प्रभावकारी बनाउन सकिने विचार व्यक्त गर्नु भयो ।
संस्थापक अध्यक्ष विश्वराम कवांले भक्तपुर युवा टिम स्थापना काल देखि नै स्व. त्रीरत्न ग्वाछाको योगदान स्मरणीय भएको भन्दै स्व. ग्वाछा वुद्धिचालका खेलाडी समेत रहेकाले उहाँको योगदानको कदर स्वरुप खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गरेको बताउनु भयो । बुद्धिचालका अन्तर्राष्ट्रिय रेफ्रि निराजन प्रजापतिले पछिल्लो चरणमा देशका विभिन्न क्षेत्रमा बुद्धिचाल प्रतियोगिताहरु आयोजना भइरहेकाले सोचेको भन्दा बढी खेलाडीहरु सहभागि भएको चर्चा गर्दै खुल्ला भक्तपुर बुद्धिचाल प्रतियोगितामा स्थानीय देखि अन्तराष्ट्रिय खेलाडी समेतको सहभागि हुने भएकाले प्रतियोगिता झन प्रभावकारी हुने र प्रतियोगिताका नतिजा पनि अन्तर्राष्ट्रिय स्तरमा टुरुन्त अपडेट हुने जानकारी दिनु भयो । संस्थाका अध्यक्ष केशव त्वानावासुको सभापतित्वमा भएको सो प्रतियोगिताका संयोजक एवं टिमका सचिव रामेश्वर मचामसीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनु भयो । विजेता खेलाडीहरुलाई शनिबार नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण हुने आयोजक समितिले जनाएको छ ।