नक्कली भूटानी शरणार्थी प्रकरणबारे टीआई नेपालको धारणा
नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको संगठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल स्वागत गर्दछ । हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबावबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबीन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने प्रपञ्च नरचियोस् र अपराधीहरू जुनसुकै पद र तहका भए पनि तिनलाई हदैसम्मको कारवाही होस् भनी टीआई नेपाल जोडदार आग्रह गर्दछ ।
आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असूली गर्ने र कीर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लूट र मानव तस्करीको संगठित अपराध मात्र होइन, राज्यविरुद्धको, नागरिक विरुद्धको र मानवता विरुद्धको अक्षम्य अपराध समेत हो । यो अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र साख ध्वस्त पार्ने कुकृत्य त हुँदै हो, नेपालका मित्रराष्ट्रहरूको सदाशयलाई प्रताडित गर्ने दुष्कृत्य पनि हो । यसमा कार्यपालिकाका वरिष्ठ सदस्यहरूको संलग्नता रहनु र एकपछि अर्को सरकारका सञ्चालकहरूले निरन्तरता दिंदै जानुले यसको जरो राज्यको उपल्लो तहसम्म पुगेको संकेत दिएको छ, जसले नेपाल र नेपालीलाई अत्यन्त दुःखद एवम् अवाञ्छनीय प्रश्नहरूसामु खडा गरेको छ । कुनै पनि प्रकारको दबाव र प्रभावबाट मुक्त निष्पक्ष छानबीन गरी सबै पद र तहका समस्त अपराधीहरूमाथिको निर्मम कारवाही मात्र यस प्रकरणको उपचार हो भन्ने टीआई नेपालको धारणा रहेको छ ।

पद्मिनी प्रधानाङ्ग
अध्यक्ष








