भक्तपुर नगरब्यापी खेल उत्सव सम्पन्न, अन्तर नगर खोखोको तयारी

भक्तपुर नगरब्यापी खेल उत्सव सम्पन्न, अन्तर नगर खोखोको तयारी
भक्तपुर, पुस ९ गते
पुस ५ गते देखि ९ गतेसम्म जारी भक्तपुर नगर अन्तरविद्यायस्तरीय खेलकूद प्रतियोगिता विजयी खेलाडी तथा विद्यालयहरुलाई पुरस्कृत गर्दै आज सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पुस ५ गते उद्घाटन गरी आज सम्पन्न भएको सो प्रतियोगिता अन्तर्गत विभिन्न १४ वटा खेलहरु नगरभरी खेल महोत्सवको रुपमा आयोजना गरिएको थियो । सो प्रतियोगिताका विजयी छात्र छात्रा तथा विद्यालयहरुलाई आज नेपाल मजदुर किसान पार्टिका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा पुरस्कार तथा खेलकूद सामग्री वितरण गरिएको थियोे । कार्यक्रमा सांसद सुवालले खेललाई मौलिक अधिकारको रुपमा संविधानमै उल्लेख गर्नुपर्नेमा जोड दिन्दै आएको उल्लेख गर्दै संविधानमै लेख्न सके सबै नेपालीले खेल खेल्न पाउने र खेलकूदका पूर्वाधारहरु देशै भरी बन्ने विश्वास व्यक्त गर्नु भयो । भक्तपुरको खेल विकासका लागि आएको १ लाख डलर अफिसरहरुले विदेशमा खेल हेर्न खर्च गरेकोमा आपति जनाउँदै सांसद सुवालले सरोकारवाला निकायले ध्यान नदिएकोमा भत्सर्ना गर्नु भयो । उहाँले देशमा कृषि मन्त्रालय छ तर खाद्यान्न विदेशबाट ल्याउनुपर्ने अवस्था ठिक नभएको बताउनु भयो ।

कार्यक्रमका अतिथी बागमति प्रदेशका साँसद सृजना सैंजूले विद्यार्थी जीवनकालगि पाठ्य पुस्तक र कक्षा कोठाबाट मात्रै सबै शिक्षा पूरा नहुने भएकाले खेलकूद र रचनात्मक गतविधिको आवश्यकतामा जोड दिनु भयो । आत्मरक्षाका लागि पनि खेलकूदको आवश्यकता छ भन्नु भयो भने सभाका सभापति एवं नगरप्रमुख सुनिल प्रजापतिले सो अवसरमा स्थानिय तहको निर्वाचन घोषणा पत्रमार्फत जनतालाई दिएको प्रतिबधता अनुसार हरेक वर्ष कुनै न कुनै खेल प्रतियोगिता आयोजना गरी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न टेवा पुर्याउदै आएको बताउनु भयो । सो अवसरमा उहाँले खोखोको अन्तर नगर खेलकूद प्रतियोगिता आयोजना गर्ने घोषणा पनि गर्नु भयो । कार्यक्रममा भक्तपुर बलिबल संघका अध्यक्ष एवं राष्ट्रिय रेफ्रि विनोद चरण रायले भक्तपुर शिक्षा, स्वास्थ्य सम्पदा, सरसफाईमा जस्तै खेलकूदमा पनि नमूना बन्दै आएकोमा खुसि ब्यक्त गर्दै भक्तपुर नगरपालिकाले जस्तै अन्य नगरपालिकाहरुले पनि खेलकूद गतविधि गर्नुपर्नेमा जोड दिनु भयो । भनपा ७ का जनप्रतिनिधी एवं पूर्व नगर खेलकूद समितिका अध्यक्ष उकेश कवांले विजयी खेलाडी र विद्यालयको नाम सार्वजनिक गरेको सो कार्यक्रममा भनपा १का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्ण गिरीले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए । यस वर्षको प्रतियोगितामा नगरका ९२ वटा विद्यालयहरु मध्ये ७९ विद्यालयका २६९८ विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।