बिजुक्छे परिवारद्वारा ऐतिहासिक भिमसेन द्यछे नगरपालिकालाई हस्तान्तरण
भक्तपुर, भाद्र ११ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले आफ्नो एक पुर्खौली सम्पतिलाई भक्तपुर नगरपालिकालाई हस्तान्तरण गर्दै आलोचकका टिकाटिप्पणीहरुलाई मथर पारेका छन् । साविक भक्तपुर नगरपालिका वडा नम्वर ७ र ८ स्थित अध्यक्ष बिजुक्छेका बुवा गणेशमान बिजुक्छेको नाममा रहेको भिमसेन सत्तललाई आज विजुक्छे परिवारबाट भक्तपुर नगरपालिकालाई हस्तान्तरण गर्दै आलोचकहरुलाई चकित पारेका हुन । विजुक्छे परिवारकै निजि गुठी अन्तर्गत स्वामित्वमा रहेको सो सत्तलको पसल बहाल र अन्य स्वामित्वको सवालमा भएका मुद्दाहरुमा अदालतले समेत गणेशमान बिजुक्छेको नाममा फैसला गरेको सो सत्तल २०७२ सालको भुकम्पपछि जिर्ण बनेको थियो । भूकम्प अगाडीसम्म सो सत्तलका केही भागमा भिम आदर्श विद्यालय सञ्चालनमा थियो ।

नवनिर्वाचित भक्तपुर नगरपालिकाका जनप्रतिनिधीले पद्भार ग्रहण गरेको १०० दिनको अवसरमा ख्वप इन्जिनियरिङ्ग कलेजको सभाहलमा आयोजित सो कार्यक्रममा अध्यक्ष विजुक्छेका माहिलो भाई प्रायगमान बिजुक्छेले सत्तलको पूर्जा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरेका हुन । कार्यक्रमका प्रमुख अतिथी नेमकिपा अध्यक्ष विजुक्छेले मानव विकासकाक्रममा चल्दै आएका संस्कारहरुको अन्धविश्वासलाई त्याग्दै बैज्ञानिक तथ्यहरुलाई अध्ययन र अनुसरण गर्नुपर्नेमा जोड दिनु भयो । घर बनाउँदा जग्गमा अन्न, पैसा, पात लगाएका बस्तु राख्ने चलनहरुको बैज्ञानिक विश्लेषण हुन सक्ने उल्लेख गर्दै दास युगमा दासहरुले विद्रोह गरेपछि मात्र दासहरु बाच्न सकेको बताउनु भयो । जहाँ जहाँ पाटी पौवा, सम्पदा छन् त्यसलाई जगेर्णा गर्न सके मात्रै इतिहास बचाउन सकिने बताउनु हुँदै अध्यक्ष विजुक्छेले सिद्धान्त र नैतिकतालाई जोगाई राख्न सके मात्रै आत्मबल र प्रतिष्ठा बढ्ने बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सय दिनको अवसरमा महत्वपूर्ण उपलब्धीको रुपमा भिमसेनको द्य छें भक्तपुर नगरपालिकालाई हस्तान्तरणमा भएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले भक्तपुर नगरलाई पर्यटकीय र ज्ञानविज्ञानको केन्द्र बनाउन नगरपालिकाकाले पछिल्लो १०० दिनमा भएका महत्वपूर्ण गतिविधिहरुको विवरण प्रस्तुत गर्नु भयोे । उहाँले सो अवसरमा भक्तपुर नगरका विभिन्न क्षेत्रका ऐतिहासिक सम्पदाहरु ब्यक्तिको नाममा रहेको भए पनि क्रमिकहरुपमा नगरपालिकालाई हस्तान्तरण हुँदै आएको बताउनु भयो ।
कार्यक्रममा बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, नगरपालिकाका उपप्रमुख रजनी जोशी, इतिहासकार डा.प्रा. पुरुषोतम लोचन श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर विष्णुदत्त पौड्यल, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छें र उकेश कवांले पनि बोल्नु भएको थियो ।















