आदर्श आजाद कलेजको ७ औं वार्षिक साधारणसभा आयोजना
भक्तपुर, पुस ३० गते । आदर्श आजाद कलेजको ७ औं वार्षिक साधारणसभा शुक्रबार आयोजना गरेको छ । कलेजको सभाहलमा आयोजना गरेको सो सभामा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले शिक्षक तथा प्राध्यापकहरुले समाज परिवर्तनमा अगुवाको रुपमा भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो । विद्यालय तथा कलेजहरु चिन्तनको चौतारीको रुपमा विकास हुनुपर्नेमा जोड दिदै सांसद गोसाईले हरेक शिक्षकहरुमा देश तथा विश्वका जल्दाबल्दा विषयहरुको गहिरो अध्ययन हुनुका साथै प्रष्ट धारणा राख्न सक्षम हुनुपर्ने आवश्यकता समेत औल्याउनु भयो । साथै उहाँले शिक्षिक तथा प्रध्यापकहरु नमूना व्यक्तित्वको रुपमा उभिनुपर्ने विचार व्यक्त गर्नु भयो ।

आर्दश आजाद कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धब सुजखुले पानसमा पीप प्रज्वलन गरी उद्घाटन भएको सो सभामा कलेजका पूर्व प्राचार्य नाती कवांले आदर्श आजाद माविमा कलेज स्थापना गर्नुका उदेश्य र महत्व बारे चर्चा गरेका थिए भने कलेजका प्राचार्य श्रीकृष्ण किसीले कलेजको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सह प्राचार्य चक्रबहादुर चकतुले सो अवसरमा कलेजको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कलेजका समस्या, चुनौति र सवल पक्षको चर्चा गर्दै भविष्यका योजनाहरु बारे पनि प्रकाश पार्नु भएको थियो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखुको सभापतित्वमा भएको सो साधारण सभामा स्वागत मन्तव्य शिक्षक प्रेमजन थापाश्रेष्ठ, धन्यवादज्ञापन आशकुमार चिकंबन्जारले गर्नु भएको भयो भने सो अवसरमा प्रस्तुती प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा बजेट र लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो ।













