भक्तपुर नगरपालिकाले मनायो ७२ औं स्थापना दिवस

भक्तपुर नगरपालिकाले मनायो ७२ औं स्थापना दिवस
भक्तपुर । २०७८ पुष २ गते, शुक्रबार
भक्तपुर नगरपालिकाले ७२ औं स्थापना दिवस मनाएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सामसामयिक विषयमा प्रवचन कार्यक्रमको आयोजना गरी भक्तपुर नगरपालिकाले स्थापना दिवस मनाएको हो ।
प्रवचन कार्यक्रममा सांसद सुवालले जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो पदीय जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै विचार र सिद्धान्तबाट निर्देशित भई देश र समाजको निम्ति काम गर्नु उपयुक्त हुने विचार राख्नुभयो ।


विदेशीको भरमा नेपालको विकास सम्भव नहुने बताउनुहुँदै सांसद सुवालले नागरिकहरुलाई श्रमप्रति सम्मान गर्न जागरुक गर्नुपर्ने र युवा पुस्तालाई प्रविधिसम्बन्धी तालिम सञ्चालन गरी सांस्कृतिक स्तर उकास्नुपर्ने आवश्यकताबोध गराउनुभयो ।
पछिल्ला दिनहरुमा नेपालमा विदेशबाट कृषिजन्य वस्तुको आयात अधिक हुँदै गएको र नेपालबाट तरकारीजन्य उत्पादनको निर्यात भने कम हुँदै जाँदा नेपालको अर्थतन्त्रलाई अत्यधिक भार पर्दै गइरहेको बताउनुहुँदै उहाँले प्राविधिक जनशक्ति उत्पादनमा नगरपालिकाले विशेष योजनाहरु ल्याउनु आवश्यक भएको बताउनुभयो ।
छिमेकी देश भारतमा कम्युनिष्ट व्यवस्था नआएसम्म नेपालको विकास नहुने बताउनुहुँदै सांसद सुवालले देशको सन्तुलित विकास नहुँदा प्रदूषण बढेको यथार्थबारे प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा स्थापित गर्न नेपाल मजदुर किसान पार्टीको महत्वपूर्ण भूमिका भएको बताउनुभयो ।
भक्तपुर नगर शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइलगायत हरेक क्षेत्रमा देशको नमुनाको रुपमा विकास भइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले निर्वाचन घोषणापत्रमार्फत प्रतिबद्धता गरेअनुरुप अधिकांश विषयहरु पूरा गरिसकेको अवगत गराउनुभयो ।


‘भक्तपुर नगरपालिकाले नगरबासी विद्यार्थीहरुको लागि रु. ५ लाखसम्म शैक्षिक ऋण, करोडौं रुपैयाँ बराबरको गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि छात्रवृत्तिको व्यवस्था गरी आएको भक्तपुर नपाले विश्वविद्यालय स्थापना गर्ने योजनाका साथ अघि
बढिरहेको छ’, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनताको लागि जनताको साथ लिएर भक्तपुर नपाले नगरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
प्रसुति सेवासहितको ख्वप अस्पताल सञ्चालन छिटै हुने जानकारी गराउनुहुँदै उपप्रमुख जोशीले आदर निकेतनको भवन निर्माणाधीन अवस्थामा रहेको र सुधारिएको शवदाह गृह निर्माणको प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
ख्वप अस्पतालका डा. रत्न सुन्दर लासिवाले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालका गतिविधिबारे जानकारी दिनुहुँदै अस्पतालबाट देशभरिका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाइरहेको बताउनुभयो ।
ख्वप अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बीमाअन्तर्गतका ८० प्रतिशत बिरामी उपचार गर्न आउने तथ्यांक प्रस्तुत गर्दै उहाँले भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा समग्र देशकै लागि उदाहरणीय कार्य योजनाअनुरुप अगाडि बढेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेजका प्राचार्य सुजन माकले कलेजको प्रगति विवरण प्रस्तुत गर्नुहुँदै हाल ख्वप इन्जिनियरिङ कलेजमा ६९ जिल्लाका १,०१५ जना विद्यार्थीहरु स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुमा अध्ययनरत रहेको र यो वर्ष ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी सिभिल इन्जिनियरिङतर्फ स्नातक तहमा ८६ प्रतिशत अंक प्राप्त गरी त्रिभुवन विश्वविद्यालयमा सर्वोत्कृष्ट हुन सफल भएको बताउनुभयो ।
ने.क.ए.ई.स. भक्तपुरका अध्यक्ष गौतम प्रसाद लासिवा भक्तपुर नपाले प्रत्येक वर्ष आफ्नो स्थापना दिवस महोत्सवको मनाउँदै आइरहेको बताउनुहुँदै यस नपाका जनप्रतिनिधि र कर्मचारीहरुबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनुभयो ।
कार्यक्रममा भ.न.पा ९ का वडाध्यक्ष श्री रविन्द्र ज्याख्व र भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।