प्रमुख प्रजापतिबाट सेवा निवृत्त शिक्षक समाजको दोस्रो अधिवेशन उद्घाटन
२०७८ भदौ २६ गते, शनिबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षक समाजको दोस्रो अधिवेशन २०७८ को उद्घाटन शनिबार एक समारोहबीच गर्नुभयो ।
प्रमुख प्रजपातिले नियमित कामबाट निवृत्त भएपछिको समयलाई शिक्षक तथा कर्मचारीहरुले समाज र देशलाई योगदान गर्नेबारेमा सोच्नुपर्ने बताउनुभयो ।
सेवा निवृत्त अवधिलाई कसरी सफल र सार्थक बनाउने भन्ने विषयमा विचारविमर्श गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै उहाँले आफ्नो ज्ञान, सीप, अनुभव र योग्यताको सही सदुपयोग गरी शैक्षिक क्षेत्रमा अझ योगदान गर्न सेवा निवृत्ति शिक्षकहरु क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
सेवा निवृत्त शिक्षक समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुमा अध्ययन गोष्ठी, अन्तरत्रियाहरु गरी आफ्नो सक्रियता अझ बढाउनुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले समाजले इतिहास र शिक्षामूलक पुस्तक प्रकाशनमा जोड दिँदै लानुपर्ने बताउनुभयो ।

कुनै पनि व्यक्ति राजनीतिबाट अलग्ग हुन नसक्ने बताउनुहुँदै उहाँले देश विदेशको राजनीतिक घटनाक्रमबारे अवगत हुनुपर्ने र आफ्नो पठन संस्कृतिलाई विकास गर्दै लानुपर्ने आवश्यकताबोध गराउनुभयो ।
एमसीसी परियोजना नेपालको हित विपरीत हुँदा हुँदै संसदबाट अनुमोदन गर्न शासक दलहरु क्रियाशील रहनु आपत्तिजनक भएको बताउनुहुँदै उहाँले देशघाती एमसीसी सम्झौताको विरोधमा नेमकिपाले देशैभरि विरोध जुलुस तथा सभाहरु गर्दै आइरहेको बताउनुभयो ।

समाजका सचिव रामगोपाल कर्माचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समाजको उद्देश्यमाथि प्रष्ट पार्नुभयो । उहाँले बौद्धिक शक्तिको क्रियाशीलताले समाजलाई परिस्कृत ढंगले अगाडि बढाउन मद्दत पुर्याउने बताउनुहुँदै समाजले सेवा निवृत्त शिक्षकहरुको हकहितबारे विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
समाजका कोषाध्यक्ष विश्वराम कवांले आफूले लेखेको पुस्तकका विषयवस्तुमाथि प्रष्ट पार्नुहुँदै सेवा निवृत्त शिक्षक समाज विचारमा आधारित संस्था भएको र सदस्यहरुको हकहित सुरक्षाको निम्ति समाजले खेलेको भूमिकाबारे अवगत गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष नाति कवांको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका सदस्य बालमुकुन्द बासुकला, समाजका नवआगन्तुक सदस्य लक्ष्मीनारायण दुवाल, बागीश्वरी उमाविका प्रअ कृष्णप्रसाद धन्छालगायतले शिक्षकले आफ्नो लागि भन्दा विद्यार्थी र समाजको निम्ति काम गर्नुपर्ने, सभ्य, सुसंस्कृत समाज निर्माणको लागि निवृत्त शिक्षकहरुले विद्यालयको शैक्षिक उन्नतिमा योगदान पुर्याउनुपर्नेलगायतका धारणाहरु व्यक्त गर्नुभएको थियो ।
सोही क्रममा प्रमुख प्रजापतिले हाल सेवा निवृत्त हुनुभएका ६ जना शिक्षकहरुलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नुभएको थियो भने उहाँले सेवा निवृत्त शिक्षक विश्वराम कवांले लेख्नुभएको मेरो जीवन यात्रा नाम पुस्तक पनि विमोचन गर्नुभयो ।















