नगर प्रमुख प्रजापतिलाई ईसीडी शिक्षिकाहरुको ज्ञापनपत्र

नगर प्रमुख प्रजापतिलाई ईसीडी शिक्षिकाहरुको ज्ञापनपत्र
२०७८ साउन ३१ गते, आइतबार
पूर्व प्रावि तहमा कार्यरत शिक्षिकाहरुद्वारा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आइतबार ज्ञापन पत्र बुझाएको छ । नगरप्रमुख प्रजापतिलाई ईसीडी शिक्षक संघर्ष समिति, भक्तपुरका अध्यक्ष श्वेता छुस्याकीले ६ बुँदे मागसहितको ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको हो ।
ज्ञापन पत्र ग्रहण गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नगरभित्र संचालित सामुदायिक विद्यालयहरूमा कार्यरत इसिडी शिक्षकहरूलाई दिइँदै आएको प्रोत्साहन रकमलाई यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो । ‘परिस्थिति सहज भए पछि विगतका वर्षमा झैं तालिम सञ्चालनलाई अगाडि बढाइनेछ’ — उहाँले भन्नुभयो ।


उहाँले संघ सरकारले घोषणा गरे बमोजिम शिक्षकहरूको तलब समायोजनको लागि आवश्यक व्यवस्था गरिने बताउनुहुँदै कोभिड महामारीका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको बताउनुभयो ।
आधारभूत विद्यालयहरूको शैक्षिक स्तर उठाउन सबै विद्यालयहरूमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको बताउनुहुँदै उहाँले ईसीडी शिक्षकहरुको समस्याहरुबारे नगरपालिकाको ध्यानाकर्षण भएको प्रष्ट पार्नुभयो ।
उक्त ज्ञापन पत्रमा पूर्व प्राथमिक तहका शिक्षकहरुलाई तलब वृद्धि गर्नुपर्ने, बाल विकास केन्द्रका शिक्षकहरुका लागि ‘मन्टेश्वरी विधि’ को तालिम व्यवस्था र शैक्षिक सामाग्रीहरुको बन्दोबस्त गर्नुपर्ने, बाल विकास केन्द्रका विद्यार्थीहरुकोउचित स्याहारसुसार गर्न २० जना विद्यार्थीका लागि एक जना सहयोगी (आया) को बन्दोबस्त गर्नुपर्नेलगायतका मागहरु समाविष्ट छन् ।
नेपाल क्रान्तिकारी शिक्षक संघका गणेशराम थुसाले भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको उदाहरणीय काम प्रशंसनीय भएको बताउनुहुँदै ईसीडी शिक्षकहरुको मागहरु सम्बोधन गर्न नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।