पहिलो दिन नौ हजारले लगाए खाेप
कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ पहिलो दिन देशभरि नौ हजारभन्दा बढीले लगाउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिनुभयो । आज भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । प्रवक्ता प्रा डा गौतमका अनुसार प्रदेश नं १ मा एक हजार २५५ जना, प्रदेश नं २ मा ७२६ जना, वाग्मती प्रदेशमा दुई हजार ६९४ जना, गण्डकी प्रदेशमा एक हजार ८४३ जना, लुम्बिनी प्रदेशमा ७३३ जना, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन् । सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ । यही माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको थियो । खोप अभियान शुभारम्भमा सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको प्रवक्ता गौतमले बताउनुभयो । काठमाडौँमा खोप केन्द्र रहेका अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अनुगमन गर्नुभएको थियो । उहाँहरुले त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनुगमन गरी खोप लगाउने व्यक्ति र सेवा प्रदायकलाई हौसला दिनुभएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले बताउनुभयो । यस्तै मन्त्री त्रिपाठीले वीर अस्पताल, सिभिल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा रहेको खोप केन्द्रको अनुगमन गर्नुभएको थियो । –––
कोभिड–१९ विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता
सरकारले आज शुभारम्भ गरिएको कोभिड–१९ विरुद्धको खोपमा उत्साहजनक सहभागिता भएको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै खोप कार्यक्रममा सबै खोप केन्द्रमा उत्साहजनक सहभागिताले खोपप्रतिको विश्वास र अभियानको सफलता स्पष्ट दर्शाएको बताउनुभएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड–१९ विरुद्धको खोप कोभिशिल्डको शुभारम्भ गर्नुभएको थियो । आज दिउँसो १ बजेसम्म प्रदेश नं १ मा १२७, प्रदेश नं २ मा ५४०, वाग्मती प्रदेशमा एक हजार दुई, गण्डकी प्रदेशमा ३०६, लुम्बिनी प्रदेशमा २२३, कर्णाली प्रदेशमा ३९८ र सुदूरपश्चिम प्रदेशमा ३०५ गरी कूल दुई हजार ९०१ जनाले खोप लगाएका छन् । प्रवक्ता प्रा डा गौतमले अहिलेसम्म कुनै अवाञ्छित घटना नभएको बताउनुभयो । खोप कार्यक्रम अभियान देशभरिका ३०० खोप केन्द्रबाट स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपक्तिमा खटिने सेवा प्रदायकलाई १० दिनभित्र खोप दिइने छ । पहिलो चरणको खोप कार्यक्रमअन्तर्गत चार लाख ३० हजार जनालाई लगाउने लक्ष्य मन्त्रालयको छ । यस्तै आज मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा अर्चना श्रेष्ठले कोभिशिल्ड खोपको प्रभावकारिता ६२ प्रतिशत रहेका र कुनै समस्या नगर्ने भएकाले ढुक्क भएर खोप लगाउन सबैसँग आग्रह गर्नुभयो ।
थप २८३ मा कोरोना पुष्टि, तीनको मृत्यु
थप २८३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय चार हजार ३८२ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म देशभर तीन हजार २८६ सक्रिय सङ्क्रमित छन् । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ५७ हजार ६९ पुगेको छ । पछिल्लो समय थप तीन कोरोना सङ्क्रमितको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २० पुगेको छ । थप २४६ सङ्क्रमित कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ६९ पुगेको छ । देशभर हाल १२२ सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् । हाल देशभर १६२ कोरोना सङ्क्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत् छन् । जसमध्ये १३९ सङ्क्रमित आइसियुमा तथा २३ सङ्क्रमित भेन्टिलेटरमा छन् । पछिल्लो समय झापामा चार, ताप्लेजुङमा एक, तेह्रथुममा एक, सुनसरीमा एक, धनुषामा चार, बारामा दुई, महोत्तरीमा एक, सप्तरीमा एक, सिरहामा एक, काभ्रेपलाञ्चोकमा एक, चितवनमा २७, दोलखामा दुई, धादिङमा पाँच, नुवाकोटमा एक, भक्तपुरमा एक, ललितपुरमा नौ, सिन्धुपाल्चोकमा एक, कास्कीमा २३, गोरखामा दुई, तनहुँमा तीन, नवलपरासीपूर्वमा १०, बागलुङमा एक तथा स्याङ्जामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी अर्घाखाँचीमा दुई, कपिलवस्तुमा एक, गुल्मीमा एक, पाल्पामा दुई, बाँकेमा नौ, बर्दियामा चार, रुपन्देहीमा ११, अछाममा एक, कञ्चनपुरमा दुई, कैलालीमा एक, डडेल्धुरामा छ, डोटीमा दुई तथा बैतडीमा एक जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।












